आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गहिरिँदै कोरोना संकट : ‘अस्पतालमा बेडको अभाव, संक्रमित बढेको बढ्यै’

गोकर्णेश्वर खबर२६ आश्विन २०७७, सोमबार ०६:५२ मा प्रकाशित (३ साल अघि) २८१ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्रबिन्दु बनेसँगै कोरोना संक्रमित भएर गम्भीर अवस्थामा पुगेका बिरामीले अस्पतालमा बेड पाउन मुस्किल हुन थालेको छ ।

कोरोना संक्रमणको संख्या ह्वात्तै बढेसँगै अहिले काठमाडौंका कोभिड अस्पतालहरुमा बिरामीको चाप अस्पतालले थेक्नै नसक्ने गरी बढिरहेको छ । उपत्यकामा रहेको कोभिड अस्पतालहरुको सामान्य बेड तथा आइसियू बेडहरु अहिले बिरामीले भरिएका छन् ।

अस्पतालको बेड भरिएर अहिले बिरामी उपचार गर्न हम्मे हम्मे अवस्थामा पुगेको अस्पतालहरुले जनाएका छन् । त्रिवि शिक्षण अस्पतालको कोभिड संयोजक डा.सन्त कुमार दासले अहिले कोरोना संक्रमितको संख्या व्यवस्थापन गर्न धेरै समस्या परिरहेको बताए ।

उनले अस्पतालको आइसियू तथा बेडहरु खाली नभएका कारण बिरामीहरुलाइ फर्काइदिने गरेको बताए । उनले भने, ‘अस्पतालमा बेड खाली भए भर्ना गर्छौँ, नत्र फर्काइदिन्छौँ ।’ उनले अस्पतालमा ६ वटा सामान्य बेड थप गरेको बताए ।

अस्पतालले दसैँपछि लगत्तै १२ बेडको आइसियू बेड थप्ने गरी एक दुई दिन भित्रमै टेण्डरको तयारी गरेको छ । त्यसको लागि आवश्यक प्रकृया पूरा गरिसकेको उनले बताए ।

सरकारले कोरोना भाइरसको पूर्वतयारीअनुसार २५ हजार संक्रमितको उपचार गर्न सक्ने गरी तयारी गरेको थियो । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३० हजार नाघिसकेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार अहिले देशभर सक्रिय सक्रमितको संख्या ३१ हजार ३ सय १५ जना छन् । तर, अहिलेसम्म आधाभन्दा बढी संक्रमित घरमा रहेर उपचार गराइरहेका छन् ।

कोभिड उपचारको लागि सरकारले तोकेको मुख्य अस्पतालहरुमा अहिले बेड समस्या र जनशक्ति समस्याको कारण कोरोना संक्रमितहरुको उपचार र व्यवस्थापनमा समस्या हुन थालेको छ । अस्पतालले १० बेड क्षमताको एक्जियू निर्माण गरिरहेको वीर अस्पतालको निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए ।

उनले अहिले स्वास्थ्यकर्मी पनि संक्रमित भएर आइसोलेसनमा बस्ने र संक्रमित बिरामीहरु बढिरहेका कारण अस्पतालमा बिरामी हेर्ने र व्यवस्थापनमा समस्या भएको बताए ।

स्वास्थ्य मन्त्रालयकाअनुसार संस्थागत तथा अस्पतालको आइसोलेसनमा रहेर उपचार गराइरहेकाको संख्या १३ हजार ६ सय ४९ जना रहेका छन् । होम आइसोलेसनमा रहेर उपचार गर्नेको सख्या १७ हजार ६ सय ६६ जना रहेका छन् ।

कोभिडको मात्र उपचार गराइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि बिरामीहरुको त्यस्तै अवस्था रहेको अस्पतालले जनाएको हो । अस्पतालको बेड क्षमताभन्दा बढी बिरामी भएको कारण गम्भीर बिरामीलाई पनि समान्य बेडमा राखेर उपचार गराइरहेको अस्पतालको प्रवक्ता डा.अनुप बास्तोलाले बताए ।

स्वास्थ्य मन्त्रालयले नयाँ योजना बनाइरहेको बताएपनि अहिलेसम्म कस्तो योजना भन्ने कुरा बताएको छैन । मन्त्रालयको सहप्रवक्ता डा.समीर अधिकारीले मन्त्रालयले कोरोना नियन्त्रणमा नयाँ योजना बनिरहेको बताए । तर, अस्पतालहरुले भने अहिलेसम्म मन्त्रालयले कुनै जानकारी तथा निर्देशन केही नगरेको जनाएका छन् ।