आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सरकार भन्छ: लापरवाही गरेमा फेरि लकडाउन गर्न बाध्य हुन्‍छौँ

गोकर्णेश्वर खबर२६ आश्विन २०७७, सोमबार ०६:३८ मा प्रकाशित (३ साल अघि) २१३ पाठक संख्या

काठमाडौँ : पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढिरहँदा सरकारले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लापरवाही नगर्न सबैलाई आग्रह गरेका हुन् । साथै सरकारका आग्रह नागरिक स्तरबाट अवज्ञा भएमा फेरि लकडाउन हुनसक्ने भन्दै सचेत गराएका छन् ।

चाडबाड निजकिँदै गर्दा यस्तो बेला संक्रमण झन् जटिल बन्नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्री ज्ञवालीको आग्ह थियो । उनले बारम्बारको सरकारको अपिल पालना नभए कडा कदम चाल्नुपर्ने अवस्था आउने बताए ।

यस्तै काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखिन थालेको पनि उनको भनाइ थियो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

सानो लापरबाहीले गर्दा जीवनमा नै जोखिम आउन सक्ने भन्दै चाडबाडका बेला झन् संवेदनशील बन्न मन्त्री ज्ञवालीले आग्रह गरेका थिए । साथै संक्रमण नियन्त्रणका लागि बाँकेको नरैनापुर, उदयपुर र वीरगंज लगायत क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरोकारवालाले खेलेको भुमिकालाई आत्मसाथ गर्न पनि उनको आग्रह थियो ।

पछिल्लो दुई दिनयता मात्रै सरकारका दुई जना मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण भइसकेको छ । विज्ञहरुले भने  काठमाडौँमा संक्रमित झन् बढ्नसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।