आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

यस वर्ष दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

गोकर्णेश्वर खबर२५ आश्विन २०७७, आईतवार ०६:३५ मा प्रकाशित (३ साल अघि) १११५ पाठक संख्या

काठमाडौं । हरेक वर्ष दसैं–तिहार लक्षित गरेर अर्बौ रुपैयाँका नयाँ नोट सटही गरिँदै आए पनि यस पटक नेपाल राष्ट्र बैंकले नयाँ नोट निष्कासन नगर्ने भएको छ ।

राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नयाँ नोट वितरण गर्दा झनै जोखिम बढ्ने भन्दै यस पटक निष्कासन नगर्ने भएको हो ।

कोभिड–१९ का कारण यसअघिका वर्षझैं सामान्य परि स्थिति नभएकाले नयाँ नोट सटही गर्ने सम्भावना नभएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले
बताए । ‘झन्–झन् कोरोनाको संक्रमण फैलिरहेकाले यस्तो जोखिमका बेला नयाँ नोट बाँड्ने सम्भावना छैन । यसबारे अझै २–३ दिनमा औपचारिक निर्णय गर्दै छौं,’ उनले भने ।

राष्ट्र बैंकले प्रत्येक वर्ष रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट सटही गर्दै आएको थियो । नोट सटही गर्दा राष्ट्र बैंकमा तथा तोकिएका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । अहिले पनि लाइनमा नोट वितरण गर्ने स्थिति नभएकाले सम्भावना न्यून भएको प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

कोभिडले गर्दा अब आम नेपालीले नयाँ नोट सटही गरेर दसैंमा प्रयोग गर्ने प्रवृत्ति हटाउन प्रेरित गरिने उनको भनाइ छ । यद्यपि यस पटक सर्वसाधारणले कुन बैंकबाट सस्तो ब्याजदरमा कर्जा लिने र कुन बैंकमा राम्रो ब्याजमा निक्षेप राख्नेमा बढी केन्द्रित भएर प्रश्न गरेका छन् । तर, नयाँ नोटमा उनीहरूको रुचि नदेखिएको प्रवक्ता भट्टले बताए ।

पछिल्लो परिस्थितिले नगदभन्दा पनि मोबाइल बैंकिङजस्ता डिजिटल प्रविधिको प्रयोग गरेर दक्षिणादेखि सबै कारोबार गर्नुपर्नेमा उनको जोड छ । उनका अनुसार मोबाइल बैंकिङ बढाउन सके नोटको माग कम हुन्छ ।

‘अहिले मोबाइल बैंकिङका प्रयोगकर्ता बढिरहेका छन् । यसैले नगदलाई भन्दा प्रविधिमा जोड दिने उचित समय हो,’ उनले भने, ‘मोबाइल बैंकिङ बढाउन सके नोटको माग कम हुने र नोट छपाइ, ढुवानी खर्च  कम हुँदा लागत घटथ्यो ।’ अधिकांशले दसैंमा नयाँ नोट सटही गर्ने  प्रवृत्ति बढ्दै गएकाले व्यवस्थापन गर्न राष्ट्र बैंकलाई चुनाैती समेत भएको  मुद्रा व्यवस्थापन विभागको भनाइ छ ।

नयाँ नाटे सटही गर्ने बढ्दो प्रवृत्ति र नयाँ सुकिला नोट नै चाहिन्छ भन्ने मानसिकता बढ्दै जाने हो भने केन्द्रीय बैंक दोहोरो मारमा पर्छ । यसले एकातिर ढुकुटीमा भएका नाटे झुत्रो हुँदै जान्छ भने अर्को तिर बजारमा नयाँ नोट परिचालन गर्दै जाँदा व्यवस्थापनमा चुनौती थपिने विभाग बताउँछ ।

नयाँ नोट वितरण गर्ने प्रक्रिया नै कमजोर भएकाले अब नयाँ नोट सटही गर्ने प्रवृत्तिलाई  परिमार्जन गर्न  जरुरी भएको राष्ट्र बैंकको तर्क छ ।

नगदभन्दा डिजिटललाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरूले दसैंलाई नै लक्षित गरेर प्रडक्टहरू ल्याउने गरेका छन् । यस वर्ष पनि केही बैंकले तयारी गरेका छन् । मोबाइल बैंकिङबाटै प्रदान गर्न सकिने स्किमसहितको प्रडक्ट बजारमा ल्याउने तयारी उनीहरूले गरेका हुन् । विगतका वर्षमा समेत सानिमा, एनआईसी एसिया बैंकलगायतले यस्तै प्रकृतिका प्रडक्ट बजारमा ल्याएका थिए । यसबाहेक दसैं नजिकिँदै गर्दा बैंकहरूले डिजिटल कारोबारबाट किनमेल गर्दा पनि विभिन्न छुटका स्किम दिने गरेका थिए । यस्ता अफर क्रमशः दिन थालेका छन् ।

गत वर्षको दसैंमा दक्षिणा मोबाइल बैंकिङमार्फत सीधै बैंक खातामा पठाउने व्यवस्था गरेको सानिमा बैंकले यस पटक पनि यस्तो प्रडक्ट बजारमा ल्याउने तयारी गरिरहेको छ । हरेक
चाडपर्वलाई लक्षित गर्दै प्रडक्ट ल्याइरहेको सानिमा बैंकका प्रडक्ट शाखा प्रमुख विक्रम श्रेष्ठ बताउँछन् । यस वर्षको दसैंमा पनि मोबाइलबाट दक्षिणा प्रडक्ट ल्याउनेबारे छलफल भइरहेको उनले जानकारी दिए ।