आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कोरोना संकट : सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड

गोकर्णेश्वर खबर२५ आश्विन २०७७, आईतवार ०६:२३ मा प्रकाशित (३ साल अघि) ४९४ पाठक संख्या

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटमा चाडपर्व मनाउनका निम्ति सरकारले मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा चाडपर्व मनाउने मापदण्ड सार्वजनिक गरेको हो ।

सरकारले व्यक्तिगत तह र आधारभूत तह गरेर विभिन्न तहमा लागू हुनेगरी मापदण्ड ल्याएको हो । चाडपर्वमा एउटै घरमा बस्ने व्यक्तिबाहेक भेटघाट नगर्न सरकारले अनुरोध गरेको छ ।
दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद र टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउन अनुरोध गरेका छन् ।

सरकारले धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन अनुरोध गरेको छ । मन्दिरमा भगवानका मूर्ति नछुन र भेटघाट गर्दा टाढैबाट नमस्कार गर्न सरकारले भनेको छ । भेटघाटमा अंगालो मार्ने वा शरीर छुने काम नगर्न सरकारले अनुरोध गरेको छ ।

प्रवक्ता गौतमले सार्वजनिक स्थालमा नथुक्न भनेका छन् । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्न उनको अनुरोध छ ।

मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोधप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुनै कार्यक्रममा सहभागी नहुनु भनेको छ । कुनै कार्यक्रम गर्नुपर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

सरकारले भनेको मापण्ड पालना नगर्ने व्यक्तिलाई संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही हुने मन्त्रालयले जनाएको छ ।