आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

आफूलाई साथ नदिने पूर्वमाओवादी नेतालाई मन्त्री हुनबाट रोक्दै छन् प्रचण्ड

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार २१:२७ मा प्रकाशित (३ साल अघि) ३४६ पाठक संख्या

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको शक्ति सङ्घर्षमा आफ्नो विपक्षमा उभिएका नेताहरूप्रति कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनुुदार देखिएका छन्। केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रयास जारी रहेको बेला आफूले नेतृत्व गरिरहेको पूर्व माओवादी समूहका केही नेताहरूप्रति प्रचण्ड अनुदार देखिएका हुन्।

मुख्यतः पूर्व माओवादीबाट प्रतिनिधित्व गरिरहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतप्रति प्रचण्डले अनुदार व्यवहार गरेको पूर्व माओवादी नेताहरूले प्रचण्डमाथि आरोप लगाएका छन्।

“नेकपाभित्रको शक्ति सङ्घर्षमा जो-जो ओलीजीको पक्षमा पूर्वमाओवादी नेताहरू खुलेका थिए, उनीहरूलाई मन्त्री नबनाउन भरमग्दुर प्रयासमा प्रचण्डजी लाग्नुभएको छ,” एक पूर्व माओवादी नेताले भने, “साथै मन्त्रीमण्डलमा भएकालाई पनि निकालेर अरूलाई पठाउन खोज्नुभएको छ।”

उनका अनुसार आफ्नो पक्षमा नलाग्ने पूर्वमाओवादी नेताहरूप्रति खुलेरै प्रचण्डले मन्त्रीबाट निकाल्ने र मन्त्री नबनाउने धारणा राख्दै आएका छन्। नेकपा सचिवालयमा समेत रहेका गृहमन्त्री रामबहादुर थापालाई हटाउन दुईवटा रणनीति अगापड बढाए पनि प्रचण्डले सकिरहेका छैनन्।

“पहिलो त सबै मन्त्री हटाएर पुनर्नियुक्ति गर्ने नीति अख्तियार गर्नुभएको थियो, सो योजना सफल भएको भए बादलजी पनि राजीनामा दिनु पर्दथ्यो,” गृहमन्त्री थापानिकट एक नेताले भने, “तर पुनर्नियुक्ति गर्नुअघि पूर्वमाओवादीनिकट स्थायी कमिटी बैठक बोलाएर रोक्ने प्रयास हुन्थ्यो।”

उनका अनुसार पूर्वमाओवादीनिकट नेताहरूलाई अढाइ वर्ष कटेकाले पुनः मन्त्री बनाउन नहुने एजेन्डा स्थापित गराएर बादललाई रोक्ने प्रयास गरिएको थियो, तर पनि त्यो सफल हुन सकेन।

दोस्रो, उनले गृह मन्त्रालय छाडेर उपप्रधानमन्त्रीसहित अर्को मन्त्रालय रोज्ने प्रस्ताव प्रचण्डले बादलसँग राखेका थिए। गत असोज ११ गते आकस्मिक मन्त्रिपरिषद् बैठक बस्नुअघि निवासमा बोलाएर प्रचण्डले बादलसँग सो प्रस्ताव गरेका थिए।

“ओलीजीको सरकारमा पूर्वमाओवादीबाट कोही उपप्रधानमन्त्री छैनन्, त्यसैले तपाईँले गृह मन्त्रालय छाडेर कुनै मन्त्रालयको नेतृत्व गर्दै उपप्रधानमन्त्री हुनुहोस्,” दाहालको प्रस्ताव थियो। तर, गृहमन्त्री थापाले प्रचण्डको गृह छाडेर अर्को मन्त्रालय रोज्ने प्रस्तावलाई भने ठाडै अस्वीकार गरिदिएको उनका सचिवालयका एक सदस्यले बताए।

“मेरो गृहमा नै अनुभव छ, त्यसैले म यसैमा काम गर्छु, अरुलाई नै उपप्रधानमन्त्री बनाएर पठाउनुसक्नु हुन्छ, मलाई उपप्रधान चाहिदैन,” गृहमन्त्री थापालाई उद्धृत गर्दै उनका सचिवालयका एक सदस्यले भने। सबैलाई राजीनामा दिलाएर पुनर्नियुक्त गर्नुपर्ने प्रचण्डको प्रस्तावको दोस्रो मार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भोग्नुपर्ने थियो। तर, सो प्रस्तावलाई प्रधानमन्त्री ओलीले भने ठाडै अस्वीकार गरिदिएका छन्।

“ओलीलाई साथ दिएको भनेर प्रचण्डजीले भट्टजीलाई पनि हटाउने प्रयास गर्नुभएको थियो, तर त्यो सफल हुन सकेन,” भट्टनिकट एक नेताले भने। उनका अनुसार गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटि बैठकमा पूर्वमाओवादी नेता भट्टले ओलीको राजीनामा दिन नहुने भन्दै प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विपक्षमा लागेका थिए। सोही कारण प्रचण्डले भट्टलाई हटाउने प्रयास गरे पनि प्रधानमन्त्री ओलीका कारण सफल हुन सकेको छैन।

ओली मन्त्रीमण्डलमा भएका तर आफूलाई साथ नदिनेलाई मात्रै होइन, पुनर्गठनमा पर्न सक्ने सम्भावित अनुहारलाई पनि प्रचण्डले रोक्न खोजिरहेका छन्। प्रधानमन्त्री ओलीले प्रदेश–२ का अध्यक्षसमेत रहेका प्रभु साहलाई मन्त्री बनाउने प्रयास गरेपछि अध्यक्ष प्रचण्डले त्यसलाई पनि रोक्ने प्रयास गरेका छन्।

गृह जिल्लाबाट आएका केन्द्रीय सदस्यसमेत रहेका रौतहट जिल्ला पार्टी इन्चार्ज युवराज भट्टराई, केन्द्रीय सदस्य ज्वाला साहलगायतसँग साहलाई मन्त्री बन्न नदिने प्रचण्डले अडान लिएका छन्।

“प्रभुजी अहिले ओलीजीको कित्तामा गइसक्नुभएको छ, त्यसैले पूर्वमाओवादी समूहबाट उहाँलाई मन्त्री बनाउने काम गरिदैन,” प्रचण्डले एक साताअघि रौतहटका पूर्व माओवादी नेताहरूसँग आफ्नो धारणा राखेका थिए।

प्रचण्डनिकटका अनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै माग गरेका बेला खुलेर विपक्षमा लागेका पूर्वमाओवादी नेताहरूलाई प्रचण्डले मन्त्री बनाउन चाहेका छैनन्। टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेललगायतलाई मन्त्री हुनबाट रोक्नका लागि प्रचण्डले ठूलै कसरत गरिरहेको पूर्वमाओवादीनिकट नेताहरू बताउँछन्।