आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

ट्रम्प चुनावी र्‍यालीका लागि तयार, बाइडेनसँग बहस भने नगर्ने

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार १५:५७ मा प्रकाशित (३ साल अघि) २७५ पाठक संख्या

काठमाडौं। अमेरिकी राष्ट्रपतीय दोस्रो बहस गर्न अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्‍यालीका लागि भने तयार रहेको बताएका छन्। गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्‍यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन्।

ट्रम्पका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनकोअवस्था धेरै राम्रो भइसकेको बताएका छन्।

अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल गएका ट्रम्प सोमबार नै निवास फर्किएका थिए। निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् ।

ट्रम्पका फिजिसियन सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिएका हुन्।

स्थानीय समय अनुसार बिहीबार राति फक्स न्युजलाई दिएको अन्तरवार्तामा ट्रम्पले निबार फ्लोरिडामा हुने र्‍यालीमा आफू सहभागी हुन चाहेको बताएका हुन्। टेलिफोनबाट गरिएको अन्तरवार्तामा ट्रम्पले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिएका थिए। सोही अन्तरवार्तामा राष्ट्रपतिय बहसमा भने आफू सहभागी हुन नचाहेको उनले बताएका थिए।

राष्ट्रपतीय बहस आयोगका अधिकारीहरुले यही अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्यौलमा परेको छ।

जो बाइडेन र ट्रम्पका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो। जुन बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धी बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय गरेका हुन्।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्रयाटको तर्फबाट उम्मेदवार छन्।

(एजेन्सी)