आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

ट्राफिक प्रहरीद्वारा हराएका २६ मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार १५:४५ मा प्रकाशित (३ साल अघि) ३८३ पाठक संख्या

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

कोरोना भाइरसको महामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाईबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सूर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँबानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, ईमाडोल, जडिबुटी, वनकाली, जोरपाटी र पुतलीसडक लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले जिम्मा लगाएका हुन् ।

“एकान्त ठाउँको पार्किङ्गस्थल, घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापरवाही वा असुरक्षित पार्किङ्ग गरेर मोटरसाईकलहरू बढी चोरी भएको देखिन्छ ।’’

महाशाखाका प्रमुख भिम ढकालले भने, ‘चोरी भएको थाहा पाउना साथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवामा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको छ ।’

उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए।

महाशाखाले यस आ.व. ०७६/०७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटा मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाईसकेको छ ।