आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

जापानले आउँदाे नोभेम्बरदेखि १२ देशका नागरिकलाई आउन दिने

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार १५:१३ मा प्रकाशित (३ साल अघि) ४८६ पाठक संख्या

काठमाण्डौ – जापानले आउँदाे नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो ।

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इण्डाेनेसिया, चीन, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् । सरकारले अत्यावश्यक काम परेका र आउनै पर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो । जापानले अहिले विश्वका एक सय ५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

जापान आउनुअघि यात्रुहरुले कोरोना भाइरस परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनुपर्नेछ । त्यसैगरी उनीहरुलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेशनमा बस्नुपर्ने र त्यस अवधिमा सार्वजनिक यातायातका साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

यो नियमहरुको कार्यान्वयनको जिम्मेवारी आगन्तुकलाई “स्पोन्सर” गर्ने व्यक्ति वा कम्पनीले लिनुपर्ने सर्त पनि राखिएको छ । सुरुमा दैनिक एक हजार जना विदेशीलाई मात्रै आउन दिने जापान सरकारको योजना छ । यो सङ्ख्या बिस्तारै वृद्धि गरिँदै लैजाने अधिकारीहरुले जनाएका छन् ।