आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वरमा लायन्स क्लबद्धारा निर्मित आइसोलेसन केन्द्रको उद्घाटन

गोकर्णेश्वर खबर२१ आश्विन २०७७, बुधबार ०७:३३ मा प्रकाशित (३ साल अघि) १२९९ पाठक संख्या

काठमाडौं – गोकर्णेश्वर नगरपालिका जगडोलस्थित लायन्स क्लबद्धारा निर्मित आइसोलेसन केन्द्रको उद्घाटन गरिएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गर्न लागेको हो ।

नगरपालिकासँगको समन्वय तथा सुमेरू अस्पतालसँग सहकार्य गरेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आइसोलेसन सेन्टर स्थापना गरेको हो । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट स्विकृती प्राप्त गरे संगै आइतबार उक्त आइसोलेसन केन्द्रको उद्घाटन गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले  गरेका छन् ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठले झन्डाको अभिबादन बाचन गरेका थिए ।कार्यक्रममा एक मिनेट विश्व शान्तिको कामना गर्दै मौन पार्थना गरिएको थियो ।

कार्यक्रममा मल्टिपल डिष्ट्रिक्ट ग्लोबल सर्भिस टिम कोअर्डिनेटर पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटुवालले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । उनले सम्भवत विश्वमै कोरोना कहरको बीच कुनै पनि गैर सरकारी संस्थाले आइसोलेसन संचालन नगरेको अवस्थामा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ पहिलो गैर सरकारी संस्था जसले आइसोलेसन संचालन गरेको बताए । उनले उक्त आइसोलेसन केन्द्र आवश्यक ब्यक्तिहरुको लागि बनाइएको बताए। सो आइसोलेसन केन्द्र संचालनको लागि बिभिन्न कठिनाइको सामना गर्दै आज उद्घाटन गर्ने चरणमा पुगेको बताउदै उनले मन्त्रालयमा मात्र आइसोलेनको स्वीकृति लिन महिनौ दिन लागेको स्मरण गरेका थिए ।

उनले बिराटनगरमा पनि लायन्सले आइसोलेसन केन्द्र स्थापना गर्न लागेको र अर्को हप्ता त्यसको उद्घाटन हुने जानकारी गराए । उनले काठमाडौंमा धेरै परिवार कोठामा बस्ने र एउटै कोठामा धेरै जना बस्ने भएको हुँदा यदि उनीहरुलाई कोरोना संक्रमण भएमा अन्य परिवारलाइ संक्रमण नहोस भनेर त्यस्ता ब्यक्तिको लागि आइसोलेसन केन्द्र स्थापना गरेको प्रष्ट पारे ।

उनले आइसोलेसन स्थापना, उद्घाटन गर्नु भन्दा पनि अब त्यसको व्यवस्थापनमा थप जिम्मेवार बन्नु पर्ने भन्दै सम्पूर्ण लायन्स सदस्यहरुलाई सहयोग गर्न अनुरोध गरेका थिए उनले महामारीको बीच सुरक्षित एव्म सतर्कताका साथ मानविय सेवामा जुट्न समेत अनुरोध गरेका थिए ।उनले उक्त आइसोलेसन स्थापनाको लागि लायन राजकृष्ण श्रेष्ठ, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्सन सिग्देल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, सुमेरु अस्पताल सहित लायन्स तथा लियो सदस्यहरुले गरेको सहयोग प्रति कृतज्ञ रहेको बताएका थिए।


आइसोलेशन उद्घाटन कार्यक्रममा यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ,पुर्व लायन्स डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, ग्लोबल एक्सन टिम लिडर लायन खगेन्द्र सिटौला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले कोरोना कहरको बीचमा पनि मानवीय तथा सामाजिक सेवामा प्रत्यक्ष रुपमा उपस्थित भई लायन्स सदस्यहरुले गरेको कार्यको मुक्त कण्ठले प्रसंशा गरेका थिए।उनले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारा यर्थाथमा परिणत गर्न लायन्स सदस्यहरु सफल भएको पनि बताए। लकडाउन खुलेएता काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या ह्वात्तै बढेको छ उनले भने संक्रमितको संख्या बढिरहेको उपत्यकामा पर्याप्त आइसोलेसनको व्यवस्थापन नभएको हुँदा महामारीको बीच सबै जना एक जुट भएर लायन्सले नगरपालिका संग समन्वय गरेर आइसोलेसन संचालन गर्न लागेको छ त्यसलाई आ आफ्नो ठाँउबाट सहयोग गरौं।

लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ए१ले काठमाडौंमा ५० बेड देखी ७० बेडसम्म पुर्याउन सकिने तथा विराटनगरमा ३० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने लक्ष्य राखेको जानकारी दिदैं त्यसका लागि डिष्ट्रिक्ट गभर्नरको प्रमुख संरक्षकत्वमा काठमाडौंको संयोजन मल्टिपल डिष्ट्रिक्ट ग्लोबल सर्भिस टिम कोअर्डिनेटर पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटुवाल तथा विराटनगरको संयोजन प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले गर्न लागेको जानकारी दिए।

 

आइसोलेसन सेन्टरमा चार छाक खाना तथा सामान्य ‍औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्ने र यसको दैनिक औसत खर्च कम्तिमा रू १५,००० (पन्ध्र हजार) लाग्ने अनुमान गरिएको उनले बताए । उनले सो को लागि हरेक लायन्स क्लब, लायन सदस्य, गैर लायन व्यक्तिहरु, सामाजिक संस्था, व्यापारिक संघ संस्था तथा ब्यक्तिले कम्तिमा एक वा एक भन्दा बढि दिनको खर्च प्रायोजन गर्ने वा गराउने प्रयास गर्नेछन भन्ने बिस्वास लिएको भन्दै यस पुनित कार्यमा हात बढाउन सबैलाई अनुरोध गरे । कार्यक्रममा आइसोलेसन स्थापना गर्न सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो भने आसोलेसन केन्द्रमा खाना लगायतको व्यवस्थापन गर्नको लागि बिभिन्न लायन्स क्लबले रकम दिने प्रतिबद्दता जनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै सुबिधा सम्पन्न आइसोलेसन संचालनमा लायन्ससंग सहकार्य गर्न पाउँदा खुसि लागेको बताए ।निषेधाज्ञा खुले संगै काठमाडौंमा संक्रमितको संख्या दिन दिनै बढिरहँदा पनि काठमाडौं महानगरले आइसोलेसन केन्द्र निर्माण गर्न नसकेको अवस्थामा गोकर्णेश्वर नगरपालिकाले लायन्स संगको सहकार्यमा आसोलेसन केन्द्र संचालन गर्न पाउँदा खुसि लागेको बताए ।


मेयर चालिसेले आइसोलेसन स्थापना भन्दा पनि व्यवस्थापनमा थप चुनौती बढेको बताए।उनले नगरपालिकाले कोरोना रोकथामको लागि बिभिन्न प्रयास गरे पनि दिन दिनै संक्रमित संख्या बढे संगै थप जोखिम बढेको बताए ।नगरपालिकाले कोरोना रोकथामको लागि सचेतनाका कार्यक्रमका साथै राहत वितरण देखि डाक्टर ,स्वास्थ्यकर्मी सहितको ११ सदस्यीय टोलि निर्माण गरि कन्ट्याक्ट ट्रेसिंग परिक्षण, परामर्श लगायतको काम गर्दै आएको नेपाल मेडिकल कलेजमा आइसोलेसन समेत निर्माण गरि संचालन गरिरहेको बताएका थिए ।उनले नगरपालिकाले दुइ वटा एम्बुलेन्स पनि संचालनमा ल्याएको बताए । उनले लायन्सले गरेको काम प्रति खुसि ब्यक्त गर्दै आगामी दिनमा पनि लायन्स संग सहकार्य गर्दै बिभिन्न कार्यक्रम गर्न नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिए ।

 

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङले धन्यबाद ज्ञापन गरेका थिए ।

काठमाडौं आइसोलेसन केन्द्रका संयोजन मल्टिपल डिष्ट्रिक्ट ग्लोबल सर्भिस टिम कोअर्डिनेटर पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटुवाल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल एक्सन टिम लिडर लायन खगेन्द्र सिटौला, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,फर्स्टलेडी मनमाया श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ, पुर्व डिस्ट्रिक गभर्नर एबम मल्टिपल हंगर रिलिफ कोर्डिनेटर लायन कुमार राज सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,महानगरीय वृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की यज्ञडोल सामुदायिक बनका अध्यक्ष सिग्देल लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ,लगायत एरिया जोन रिजनचियर पर्सन सहित बिभिन्न लायन्स क्लबका पदाधिकारी सहित लायन्स तथा लियो लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादबले गरेका थिए।