आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोनाको हटस्पट दक्षिण एसिया : भारतमा सबैभन्दा बढी संक्रमित, नेपाल चौथो स्थानमा

गोकर्णेश्वर खबर१९ आश्विन २०७७, सोमबार ०६:२९ मा प्रकाशित (३ साल अघि) ५१३ पाठक संख्या

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको इपिसेन्टर पछिल्लो समय दक्षिण एसियाली राष्ट्रहरु बनिरहेका छन् । दक्षिण एसियामा नै पहिलो पटक कोरोना संक्रमित भएको मुलुक नेपाल अहिले बढी प्रभावित मुलुकको चौथो नम्बरमा छ ।

दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित छ । भारतमा हालसम्म ६५ लाख ४९ हजार ३ सयभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ । १ लाख १ हजार ८ सय १२ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतपछि सबैभन्दा बढी प्रभावित बङ्गलादेश रहेको छ । बङ्गलादेशमा ३ लाख ६७ हजार ५ सय ६५ जना कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमितमध्ये ५ हजार ३ सय २५ जनाको मृत्यु भएको छ ।

त्यसपछि पाकिस्तानमा ३ लाख १४ हजार ६ सय १६ कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ६ हजार ५ सय १३ जनाको मृत्यु भएको छ ।

यसपछि चौथो स्थानमा नेपाल रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । संक्रमितमध्ये ५ सय २८ जनाको मृत्यु भएको छ ।

यस्तै अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३९ हजार २ सय ९७ जना रहेका छन् । संक्रमितमध्ये १ हजार ४ सय ६२ जनाको मृत्यु भएको छ ।

माल्दिभ्समा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ६५ जना रहेको छ । जसमध्ये ३४ जनाको मृत्यु भएको छ । श्रीलंकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ९५ जना रहेका छन् । हालसम्म १३ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

दक्षिण एसियामा भुटान सबैभन्दा कम प्रभावित मुलुक हो । भुटानमा कोरोना संक्रमितको संख्या २ सय ८३ रहेको छ । भुटानमा अहिलेसम्म कुनैपनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।