आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना संक्रमित बढेसँगै काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटरको अभाव

गोकर्णेश्वर खबर१६ आश्विन २०७७, शुक्रबार १६:२६ मा प्रकाशित (३ साल अघि) ८४७ पाठक संख्या

काठमाडौं, असोज १६ : लकडाउन खुलेयता काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या ह्वात्तै बढेको छ। संक्रमितको संख्या बढिरहेको उपत्यकामा आईसीयू बेड र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न सरकारले सकिरहेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दैनिक भेटिने संक्रमितमध्ये आधाभन्दा धेरै अहिले काठमाडौं उपत्यकाका छन्।

बिहीबारसम्म उपत्यकामा मात्रै १८ हजार ८ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक सय ४१ जनाको मृत्यु भइसकेको छ।  तर, संक्रमित बढ्ने क्रम उकालो लागेपनि त्यसको उपचारमा अत्यावश्यक पर्ने भेन्टिलेटर भने निकै न्यून छन्।

उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि सरकारले १२ वटा अस्पतालको व्यवस्था गरेको छ। ती अस्पतालमा केवल ८९ वटा मात्रै भेन्टिलेटर सञ्चालनमा रहेको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ। यस्तै, ती १२ अस्पतालमा २ सय ३ वटा मात्र आईसीयू बेड छन्। यस्तै १२ वटा अस्पतालमा कुल तीन हजार ५ सय ८० जनरलबेड र आइसोलेसन बेडको संख्या ८ सय २ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा संक्रमितको संख्या बढिरहँदा भेन्टिलेटर र आइसोलेसन बेडको अभाव देखिन थालेको बताए।

‘उपत्यकामा दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ। संक्रमितको संख्या बढिरहँदा भेन्टिलेटर र आईसीयू बेडको अभाव देखिन थालेको छ,’ गौतमले काठमाडौं प्रेससँग भने ‘अहिले हामी भेन्टिलेटर थप्ने प्रक्रियामा छौँ।’

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका ६ जना बिरामीमध्ये एक जनालाई भेन्टिलेटरको आवश्यक पर्दछ। तर, राजधानीमै भेन्टिलेटरको अभाव देखिएकाले भोलिका दिनमा  संक्रमितको उपचारमा ठूलो समस्या आउन सक्ने विज्ञहरु बताउँछन्।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिले विगतको तुलनामा केही हदसम्म भेन्टिलेटरको व्यवस्था गरिएपनि त्यो पर्याप्त नभएको बताउँछन्। संक्रमण बढ्दै गएकाले संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटर पर्याप्त नभएको उनको भनाइ छ।

‘नेपालमा विगतका दिनमा पनि भेन्टिलेटरको अभाव थियो,’ उनले भने,‘अहिले कोरोना भाइरसका कारण यो अझ आवश्यक छ। त्यसैले पर्याप्त आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न जरुरी छ।’

उपत्यकाका कुन अस्पतालमा कति जनरलबेड, आइसोलेसन बेड, आईसीयू बेड र भेन्टिलेटर छन्?

भेन्टिलेटरले कसरी बचाउँछ ज्यान?

बिरामीको उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोना भाइरसले फोक्सोको तन्तु नष्ट गर्छ। तन्तु नष्ट हुँदा फोक्सोलाई रगतमा अक्सिजन पठाउन अप्ठ्यारो हुने गरेको छ। यस्तो अवस्थामा निमोनिया पनि हुने गरेको छ।

यो बढ्दै जाँदा एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने गर्छ। जसले शरीरका अन्य अंग मुटु, मिर्गौला लगायतलाई पनि हानी पु¥याउँछ। जसले कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु हुन्छ।

शरीरमा यस्तो समस्या आउँदा भेन्टिलेटरले बिरामीको फोक्सोमा अक्सिजन पठाउनुका साथै श्वास प्रश्वासमा पनि केही हदसम्म सहजता ल्याउँछ। यस्तै, भेन्टिलेटरले मानिसको शरीरभित्र तापक्रम र आद्रता पनि थप्छ। बिरामीको शरीरको तापक्रमसँग सन्तुलन मिलाएर भेन्टिलेटरले तापक्रम र आद्रह थप्ने गर्छ।

कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई मात्रै होइन, अलिअलि सकस भएका बिरामीलाई समेत भेन्टिलेटरले सहयोग गर्छ। जसले गर्दा कोरोनाबाट मृत्यु हुनबाट जोगिने गरेको छ।