आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

काठमाडौं उपत्यकामा कोरोना : सरकारी अस्पतालमा १९२ जना गम्भीर अवस्थामा उपचाररत

गोकर्णेश्वर खबर१६ आश्विन २०७७, शुक्रबार ०६:३० मा प्रकाशित (३ साल अघि) ३०० पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यका देशमै कोरोना संक्रमणको हटस्पट भएको छ । काठमाडौंमा कोरोना संक्रमित तथा कोरोनाको कारण मृत्यु हुनेको संख्या अन्य जिल्लाको भन्दा धेरै रहेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न सरकारी अस्पतालको आइसियू र भेन्टिलेटरमा मात्र अहिले १ सय ९२ जना संक्रमितले उपचार गराइ रहेका छन् । यो संख्या सरकारले कोभिडका लागि निःशुल्क उपचार गराउने अस्पतालहरुको मात्र भएको जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौंले जनाएको छ ।

कोभिडको उपचार गर्ने अनुमति पाएका अन्य निजी अस्पतालहरुको डाटा कार्यालयसँग नभएको कार्यालयको कोरोना पोकल पर्सन पार्वती बिष्टले जनाकारी दिइन् ।

निःशुल्क उपचार तथा परीक्षण गर्ने अस्पतालहरुको डाटा अनुसार अहिले १ सय ३० जनाको विभिन्न अस्पतालको आइसियूमा र ६२ जना भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छन् ।

भेन्टिलेटरमा उपचार गराउनेमा सबै भन्दा बढी पाटन अस्पताल रहेको छ । पाटन अस्पतालमा आइसियूमा १५ र भेन्टिलेटरमा पनि १५ जना नै रहेका छन् । त्यस्तै वीर अस्पतालमा १० जनाको आइसियूमा र १० जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २० जना आइसियूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा २० जना आइसियू र ८ जना भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा १२ जना आइसियू र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौंका ११ वटा अस्पतालको आइसियू र ८ वटा अस्पतालको भेन्टिलेटरमा कोरोना संक्रमितले उपचार गराइरहेका छन् । वीरेन्द्र सैनिक अस्पतालमा २० जनाको आइसियूमा र ८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै नेपाल मेडिकल कलेजमा १० जनाको आइसियू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नोवेल अस्पतालमा ५ जना र मेगा अस्पतालमा ५ जना आइसियूमा उपचाररत छन् । सर्वाङ्ग अस्पताल कुपण्डोलमा पनि आइसियूमा ३ जनाको उपचार भइरहेको छ ।

काठमाडौं मेडिकल दुवाकोटमा १५ जनाको आइसियू र ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।