आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

घरफिर्तीलाई सहज बनाउन जोड

गोकर्णेश्वर खबर११ आश्विन २०७७, आईतवार ०६:४४ मा प्रकाशित (३ साल अघि) ३०५ पाठक संख्या

काठमाडौँ, ११ असोज । गैरआवासीय नेपाली सङ्घ एनआरएनए एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मुख्य शत्रका रुपमा आज ‘आप्रवासी नेपाली कामदारः स्वदेश फिर्ता, पुनःएकीकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीबीच छलफल भएको छ ।

आप्रवासी कामदारको घर फिर्ती, पुनःएकीकरण र रोजगार सहज हुनुपर्ने सरोकारवालाको जोड छ । कोभिड–१९ का कारणका नेपाली कामदारको रोजगार गुमेको हुँदा स्वदेशमा नै रोजगार सिर्जना गर्न एनआरएन र नेपाल सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको उद्धार तथा पुनःएकीकरणका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले विदेशमा समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारका लागि पैसा पठाइसकिएको तर सरकारले मात्र स्वदेश फर्कन चाहने सबैलाई ल्याउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मिलेर अहिलेको समस्या समाधान गरौँ ।”

सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आप्रवासी कामदारको पक्षमा सरकारले वेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पीडामा परेका नेपालीको पक्षमा सरकारले वास्ता गरेको छैन, एनआरएनले प्राथमिकतामा राखेर काम गर्नु खुशीको विषय हो ।”

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, पूर्वसचिव तथा वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराईले आप्रवासी कामदारको घर फिर्ती, पुनःएकीकरण र रोजगार आजको मूल विषय भएकाले सरकारले त्यतातर्फ ध्यान दिनुपर्ने बताउनुभएको खबर आजको समाचार पत्रले जनाएको छ ।