आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

उपत्यकाका सार्वजनिक यातायातः भाडादर सरकारी,यात्रु सिटभरि

गोकर्णेश्वर खबर६ आश्विन २०७७, मंगलवार ०६:४७ मा प्रकाशित (३ साल अघि) ४९० पाठक संख्या

काठमाडौँ, ६ असोज । सरकारले एक सिटमा एक यात्रु मात्रै राख्न मिल्ने गरि सार्वजनिक यातायात सञ्चालनको मापदण्ड तोकेपनि उपत्यकाका सार्वजनिक यातायातमा भने सिट भरी यात्रु राखेर खुलेआम यात्रा गर्दै आएका छन् । सिटभरि मात्र नभई कतिपय यातायातमा भने उभ्याएर समेत यात्रु राख्ने गरेको पाईएको छ ।

कोरोना महामारी बढेको भन्दै लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात सञ्चालनमा आएपनि संक्रमण फैलिने खतरा बढ्दै गएको छ । न ढोकामा स्यानिटाईजर न चालक र सहचालकको हातमा पञ्जा नै देखिन्छन् । सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्दै गएको छ ।

काठमाडौं उपत्यकामा हरेक दिन ७ सय बढी कोरोना थपिन थालेका छन् । कोरोना संक्रमण तिब्र फैलिनमा सार्वजनि यातायात पनि एक महत्वपूर्ण माध्यम हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले बारम्बार मापदण्ड पालना गर्न जोड दिँदै आएको छ । सिटभरि यात्रु राखेर पनि भाडा भने सरकारले तोकेको जति नै लिने गरेको गुनासो बढ्न थालेको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।