आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

अर्थतन्त्रलाई माथि उकास्न नेपाललाई साढे २३ अर्ब रुपैयाँ ऋण उपलब्ध

गोकर्णेश्वर खबर४ आश्विन २०७७, आईतवार ०६:४४ मा प्रकाशित (३ साल अघि) ३०८ पाठक संख्या

काठमाडौं । विश्व बैंकले कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उकास्न वित्तीय सुधार कार्यक्रमका लागि नेपाललाई साढे २३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

सरकारले अघि सारेका योजनाहरु कार्यान्वयन गर्न विश्व बैंकले २०० मिलियन डलर (२३ अर्ब ५१ करोड) रुपैयाँ बराबरको ऋण सहयोग हालै स्वीकृत गरेको हो । नेपालको वित्तीय अवस्थालाई सन्तुलित र पहुँचयोग्य बनाउन तथा कोरोना भाइरस महामारी रोकथाम एवं नियन्त्रणसँगै पुनस्र्थापना कार्यक्रमका लागि सहयोग पुर्‍याउने उद्देश्ले ‘विकासका लागि वित्त’ (फाइनान्स फर ग्रोथ) शीर्षकमा उक्त ऋण स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ ।

‘महामारीबाट नागरिकको ज्यान जोगाउनु, त्यससँगै आर्थिक पुनस्र्थापनाका योजना कार्यान्वयन गर्नु पनि अहिलेको अवस्थामा उत्तिकै महत्वपूर्ण छ,’ विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जर्भोसले भने, ‘यो परियोजनाले नेपालको वित्तीय क्षेत्र, पुँजीबजार र बिमालगायत क्षेत्रमा सन्तुलन कायम राख्न, कोरोना महामारीपछिको आर्थिक पुनर्स्थापनाका लागि सहयोग पुर्‍याउनेछ ।’

त्यस्तै, वित्तीय क्षेत्रको प्रभावकारी नियमन र अन्य सुधारका माध्यमबाट न्यून आर्थिक अवस्था भएका परिवार, महिलालगायत पिछडिएको वर्गमा सहज वित्तीय पहुँचका कार्यक्रम, सोअनुरुपका पूर्वाधार निर्माण र वित्तीय साक्षारतामा यो रकम खर्च हुने विश्व बैंकले जनाएको छ । (आर्थिक अभियान)