आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला हुने

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार ०६:५२ मा प्रकाशित (३ साल अघि) ४२१ पाठक संख्या

काठमाडौं । सरकारले अन्तरजिल्ला तथा लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ चैत २०७६ बाट बन्द भएको छोटो, मध्यम र लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित काठमाडौंमा देखिएपछि सरकारले ११ चैतबाट देशव्यापी रूपमा लकडाउन गरेको थियो ।

त्यसपछि असारमा लकडाउन खुले पनि मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन भएका थिएनन् । लकडाउन खुलेपछि पनि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले कोभिड संक्रमणको अवस्था हेरेर निषेधाज्ञा गरेका थिए । जसका कारण सार्वजनिक सवारी साधन ग्यारेजमा थन्किएका थिए ।

सुरक्षा मापदण्ड पालना गरेर लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी ‘हुस’ले व्यवसायीको मागलाई सम्बोधन गर्दै अन्तरजिल्ला तथा लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । ‘हामीले कोभिड–१९ को संक्रमण रोक्नका धेरै धैर्य गर्‍यो तर केही नलागेपछि १ असोजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका थियो । सरकारको निर्णयको स्वागत गर्दछौं ।’

दसैंमा घर फर्केनका लागि सहज गराउने उद्देश्यले समेत समयमै अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय भएको हो । यस वर्ष कात्तिकमा दसैं परेको छ । यातायात व्यवसायीहरुले समेत करिब ६ महिनादेखि सवारी साधन सञ्चालन गर्न नपाएका कारण घाटा बेहोर्नुपरेको भन्दै १ असोजबाट अनुमति नदिए पनि सवारी साधान सञ्चालन गर्ने बताएका थिए ।

सरकारले यातायात व्यवसायी र यात्रुलाई समेत मध्यनजर गरेर अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको र यस विषयमा थप जानकारी दिने एक मन्त्रीले बताए । भाडा दरको विषयमा केही जानकारी सार्वजनिक भएको छैन । व्यवसायी र यात्रु दुवैलाई सहज हुने गरी भाडादर तोकिने भएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।