आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइबाट बागमती किनारमा गुर्जो रोपण अभियानको शुभारम्भ

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार १६:१० मा प्रकाशित (३ साल अघि) ८९४ पाठक संख्या

काठमाडौँ, भाद्र २९ ।  अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिको आयोजनामा  बागमती किनार  बृहत गुर्जोरोपण अभियान सुभारम्भ गरिएको छ ।

”गुर्जो रोपौ, नियमित सेवन गरौ , निरोगी रहौ” भन्ने मूल नाराको साथमा सुन्दरीजल देखि ज्वागल यु एन पार्क सम्म गुर्जो रोपण एक कार्यक्रमका बीच शनिबार  प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइले सुभारम्भ गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ ।गुर्जो रोपण कार्यक्रममा, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत वाग्मती सफाइ अभियानकर्मी पनि सहभागी  भएका थिए।

आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु  गरेका हुन् । वाग्मती सुन्दरता सरोकार मञ्च र मानव अधिकार तथा शान्ति समाजले नदी किनारका बस्तीमा रोप्न एक हजार बिरुवा वितरण गरेको अध्यक्ष उत्तम पुडासैनीले  बताए ।

गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउँछ । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ ।

रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवटले बताए । गर्भवतीले भने गुर्जोका प्रयोग गर्नु हुँदैन भने पाँच वर्षमुनिका बालबालिकालाई पनि सेवन नगराउनु राम्रो हुन्छ । डाँठ र पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रुपमा उपयोग गर्न सकिन्छ ।