आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

लकडाउन र निषेधाज्ञा नगर्न उद्योगी व्यवसायीले सरकारलाई आग्रह

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार ०८:०७ मा प्रकाशित (३ साल अघि) २५६ पाठक संख्या

काठमाडौं । लकडाउन र निषेधाज्ञा नगर्न उद्योगी व्यवसायीले सरकारलाई आग्रह गरेका छन् ।

कारोना संक्रमणका कारण संकटमा परेको अर्थतन्त्र जोगाउन पनि लकडाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने व्यवसायीको माग छ । नेपाल उद्योग परिसंघका पदाधिकारीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटगरी महामारीबाट जोगिन देशव्यापी लकडाउन वा निषेधाज्ञा गर्नुभन्दा कोरोना प्रभावित क्षेत्रमा मात्रै सिल गर्न सुझाएका छन् ।

आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउन लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्द गर्नु पर्ने परिसंघको सुझाव छ । यदि कुनै क्षेत्रमा संक्रमण फैलिएमा संक्रमितको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्र मात्र लकडाउन गर्नुपर्नेमा व्यवसायीको जोड छ । उद्योगीले उद्योग व्यवसायलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन राष्ट्रपति समक्ष अनुरोध गरेका छन् ।

‘कर्मचारी र कामदारको मनोबल उच्च बनाई सुरक्षा उपाय अवलम्बन गरी उद्योग व्यवसाय तथा बजार सञ्चालन गर्नुपर्छ’, उद्योगीले भने । वर्तमान असहज परिस्थितिलाई मध्यनजर गरी सरकारले उद्योगी व्यवसायीलाई सहुलियतको व्यवस्था गर्नसमेत परिसंंघले अनुरोध गरेको थियो ।

यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजस्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीका लागि समय थप गर्न उनीहरुले सरकारसँग आग्रह गरेका छन् । उद्योग व्यवसाय पूर्णसञ्चालनको माग गर्दै परिसंघका पदाधिकारीले उद्योगमा कार्यरत कर्मचारी र मजदुरलाई सरकारले तोकेका सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको संक्रमणबाट जोगाउन उद्योगी व्यवसायी प्रतिबद्ध रहेको जानकारी गराए ।

परिसंघले यस्तो विषम परिस्थितिमा उद्योगमा कार्यरत कर्मचारी र कामदारको हौसला बढाइ काममा लगाउनुपर्ने बताउँदै आएको छ । कोभिडको महामारीबाट पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीले राष्ट्रपति समक्ष जानकारी गराए । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यलाई पूर्णरुपमा सञ्चालन गर्न पनि राष्ट्रपति समक्ष अनुरोध गरे । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।