आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

सभापति देउवाद्वारा दुःख व्यक्त

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १५:३७ मा प्रकाशित (३ साल अघि) ३७६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता तथा बाग्लुङमा एक जनाको मत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै उनले सम्पूर्ण पीडितको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गरेका छन् ।

उनले आइतबार विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घडीमा बेपत्ताको तीव्रताका साथ खोजी गर्न, घाइतेलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्री खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

पूर्वप्रधानमन्त्री देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटकपटक पहिराले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भूगर्भविद्ले औँल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकारसमक्ष माग गरेका छन् ।

उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टीका सम्पूर्ण नेताकार्यकर्तामा अपिल गर्दै उनले पहिरामा जीवन गुमाउनेहरुको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।