आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

व्यवसायीका समस्या समाधान गर्न कांग्रेस सभापति देउवाले पहल गर्ने

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १५:१३ मा प्रकाशित (३ साल अघि) १८० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताएका छन् ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीन तर्फको नाकामा मालबस्तु रोकिएको भन्दै आइतबार ज्ञापन पत्र बुझाउन पुगेका व्यवसायीहरुसँगको भेटमा सभापति देउवाले प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने बताएका हुने ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले १० महिनादेखि केरुङ नाकामा मालबस्तु सहितका १ हजार २ सय वटा कन्टेनर रोकिएर बसेको र त्यसलाई काठमाडौं ल्याउन पहल गरिदिन ज्ञापनपत्र बुझाएको बताए ।

ज्ञापन पत्र बुझ्दै सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । आफूहरुले कन्टेनर ल्याउन परराष्ट्र मन्त्रालयमा कुटनीतिक पहल गर्दासमेत सम्भव नभएपछि राजनीतिक पहल सुरु गरेको कुटुवालको भनाई छ ।

यसबाहेक कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि व्यवसाय ठप्प भएकोले घरभाडा र बैंकको ब्याज भुक्तानी गर्न नसकेको भन्दै मिनाहा गरिदिने व्यवस्था गरिदिन पहल गर्न समेत सभापति देउवा समक्ष व्यवसायीहरुले माग गरेका छन् ।

कोभिडपछि व्यापार व्यवसायलाई सूचारु गर्नका लागि बिनाधितो ऋण उपलब्ध हुने व्यवस्था गर्नसमेत माग गरिएको अध्यक्ष कटुवालले बताए । यस्तै कोभिडको असरबाट क्षति भएको सम्बन्धमा अध्ययन गर्न निजी क्षेत्र र सरकारसहितको समन्वय समिति गठन गर्न समेत माग गरेको छ ।

व्यवसाय नै ठप्प भएको अवस्थामा सरकारले आफुहरुलाई कर तिर्न भनिरहेकाले त्यसलाई रोक्न र आन्तरिक विषयहरुमा छुट दिन पहल गरिदिन पनि माग गरिएको उनले बताए ।