आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

सिन्धुपाल्चोकमा पहिरो, २० जना भन्दा बढी बेपत्ता

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार ०७:३६ मा प्रकाशित (३ साल अघि) ४०० पाठक संख्या

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे-७ क्षेत्रमा गएराति भीषण पहिरो गएको छ । भिरखर्क, नागपुजे र चाङसारलगायतका ठाउँमा गएको पहिरोले ठूलो क्षति पुगेको जनाइएको छ ।

स्थानीयले दिएको प्रारम्भिक विवरण अनुसार १८ घर पुरिएको र २० जना बेपत्ता भएको जनाइए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले जनाए ।

घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।

गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्‍याएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

तस्वीर- बजिरसिंह भण्डारीको फेसबुकबाट