आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

बाग्लुङमा बाढी-पहिरोले बस्ती बगायो  : आठ जनाको शव फेला,३६ जना अझै बेपत्ता

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार ११:३३ मा प्रकाशित (३ साल अघि) ३४४ पाठक संख्या

काठमाडौं – बाग्लुङमा गएराति भुजी खोलामा गएको बाढी तथा पहिरोका कारण घरहरू बगाउँदा बेपत्ता भएका आठ जनाको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्ममा क्षति पुर्‍याएको छ। त्यहाँबाट अहिलेसम्म आठ जनाको शव फेला परेको छ। मृत्यु हुनेमा ६ पुरूष र दुई जना महिला छन्।

पानीको बहाव बढेपछि बाढी खोला छेउमा पस्यो र बस्ती बगायो, इन्स्पेक्टर भण्डारीले भने,अहिले आठ जनाको शव फेला परेको छ ।

त्यस्तै बेपत्ता हुनेको संख्या ३६ पुगेको छ। बेपत्ता हुनेहरूमा पनि तीन जनाको पहिचान नभएको इन्स्पेक्टर भण्डारीले बताए।

उनका अनुसार कतिपय शवका टाउको नभएकाले सनाखत गर्न कठिन भइरहेको छ।

सनाखत गर्न कोशिश गरिरहेका छौं। कतिपयका टाउको, खुट्टा छैनन् जसले गर्दा पनि हामीलाई सनाखत गर्न गाह्रो भएको छ, उनले भने,फेला परेका शवहरू पनि २५,३० किलोमिटर पर भेटिएको हो।

बाढीले २५ वटा घर पूर्ण रूपमा क्षति भएको उनले बताए।

अहिले नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले बेपत्ताहरूको खोजी गरिरहेको छ।