आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

‘सङ्क्रमितलाई घृणा र दुर्व्यवहार होइन सक्दो माया गरौँ’

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार ०६:४५ मा प्रकाशित (३ साल अघि) ४४१ पाठक संख्या

काठमाडौं । ‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुर्व्यवहार होइन सक्दो सहयोग गरौँ ।’

काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समुदायमा अहिले यस्तै अभियान चलाएका छन् । कोरोना सङ्क्रमित र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमित नभएका व्यक्तिले दुर्व्यवहार  गर्न थालेपछि जनप्रतिनिधिकै अगुवाइमा समुदाय स्तरमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो ।

काठमाडौं उपत्यकामा कुल सङ्क्रमितमध्ये करिब ४५ प्रतिशत व्यक्ति घरमै एकान्तवास र समुदायको निगरानीमा एकान्तवास बसिरहेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले कोरोना सङ्क्रमितलाई दैनिक तीन पटक फोन गरेर उहाँहरूको समस्या बुझ्ने गरेको बताए ।

उनले वडा भित्रका सबै सङ्क्रमितको आफूले अभिभावकत्व ग्रहण गरी आवश्यक सहयोग गरिरहेको छु, कोरोना लाग्दैमा आत्तिनुपर्दैन, घरमै सुरक्षित भएर बस्दा परिवारलाई कोरोना सर्दैन भने । उनले नागरिक सचेत भए कोरोनालाई जित्न सकिन्छ भन्ने अभियान नै चलाएको बताए । काठमाडौं महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाको भनाइमा कोरोनालाई जित्न समुदाय जागरण अभियान चलाइएको छ ।

समुदायमा क्रियाशील युवा समूह, नागरिक समाजका अगुवा, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहलाई कोरोना सचेतना अभियानमा टोल–टोलमा परिचालन गरेका छन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।