आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

भारत बसेर नेपालमा हतियार र लागुऔषध कारोबार, समातिए मुख्य नाइके ‘बग्गा’

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार ०६:५५ मा प्रकाशित (३ साल अघि) ४९६ पाठक संख्या

भारतमा बसेर नेपालमा हतियार तथा लागुऔषधको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादवलाई शनिबार पक्राउ गरेको हो। विराटनगर महानगरपालिका-१६ दरैया नाकामा नियन्त्रित लागुऔषधसहित यादवलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

यादवको साथबाट १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाट्रोसन र ५१ चक्कली नाइट्राभेट बरामद भएको खड्काले बताए। प्रहरीका अनुसार यादव भारतमा बसेर नेपालमा आपराधिक गतिविधि गर्छन्।

प्रहरीका अनुसार उनीविरूद्ध नेपालमा हातहतियार, खरखजना तथा लागुऔषध मुद्दा विचाराधीन छ। विशेषगरी १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैध रुपमा हातहतियार र लागूऔषधको कारोबारको सञ्जाल विस्तारमा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।

‘उनी नेपालमा आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके रहेको खुल्न आएको छ,’ खड्काले भने। उनका अनुसार यादवले २०७५ मंसिर ३ गते उदयपुर उदयपुरगढी गाँउपालिका-१९ का मन्दिप तामाङलाई ‘मेड इन युएसए’ लेखेको अटोमेटिक पेस्तोल पठाएका थिए।

सोको चार थान गोलीसहित यादवले सुनसरी इटहरी उपमहानगरपालिका-१२ खनारका ३५ वर्षीय सुशीलकुमार साहुमार्फत पठाएको अनुसन्धानमा खुलेको छ। सो क्रममा मन्दीप र सुशीललाई विराटनगर महानगरपालिका-१६ स्थित विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरेको थियो।

सो घटनाको अनुसन्धान गर्दा उक्त हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाइके यादव रहेको खुलेको थापाले बताए। यस्तै, २०७५ मंसिर ८ गते यादवले विराटनगर महानगरपालिका-१६ का २२ वर्षीय विद्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई लागुऔषध र कटुवा पेस्तोल दिएर पठाएका थिए।

सुनसरी धरान उपमहानगरपालिका घर भई ललितपुर महानगरपालिका-४ एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षीय रुपम राईले पाउने गरी सो लागुऔषध र पेस्तोल यादवले पठाएका थिए।

मण्डल र गिरीलाई ३ सय ८० एम्पुल विभिन्न नियन्त्रित लागूऔषध, १ सय ५ ग्राम, १ सय १० मिलीग्राम ब्राउन सुगर, कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेपछि अनुसन्धान थालिएको थियो।

अनुसन्धानमा सो पेस्तोल र लागुऔषध यादवले नै पठाएको खुलेको थियो। यादवलाई अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।