आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

जन्मदिनमा दीपाश्रीले भनिन्- ‘आफ्नै दिदीबहिनी सम्झेर माफ गरिदिनुस्,अब गल्ती गर्दिनँ’

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार १२:५८ मा प्रकाशित (३ साल अघि) २५७ पाठक संख्या

काठमाडौँ – कलाकार तथा निर्देशक दीपाश्री निरौलाको आजबाट ४६ वर्ष लागिन्। विराटनगरमा जन्मिएकी निरौलाले जन्मदिनको अवसरमा फेसबुकमा दर्शकको लागि भिडियो सन्देश पोस्ट गरिन्।

दर्शकसँग ७ मिनेट माग्दै निरौलाले लेखेकी छन्, ‘धेरै दिन देखि म तपाईँहरुसँग टाढा थिएँ, त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु, आज गते पनि ७, तपाईहरुसँग ७ मिनेट मागे है १’

भिडियोमा आउनुको कारण सुनाउँदै उनलले आफू केही पुराना र केही नयाँ कुरा गर्न मन लागेर आएको बताएकी छन्। ‘हुन त पछिल्ला कुरा नगरेको भए पनि हुन्थ्यो। तर पछिल्ला केही घटनाले मलाई के अनुभूत गरायो भने–समस्याबाट भाग्नु भन्दा समस्या व्यवस्थापन गर्नु ठूलो हो।’ उनले भनिन्, ‘३० वर्षको करियरमा आधा समय त मेरो पीडादायी नै भयो, तर जब २०६० सालमा तितोसत्य आयो त्यसपछि मैले पछाडि फर्केर हेर्नु परेन।’

दीपाले तितोसत्यको ६०० भाग, ६–७ वटा चलचित्र, छक्का पञ्जा शृङ्खलालाई दर्शकले दिएको मायाले आफू सफल भएको भन्दै दर्शकलाई धन्यवाद भनेकी छन्। तर उनले काममा सफल भएपनि व्यक्तित्व विकासमा आफ्नो अझै कमजोरी रहेको महशुस भएको बताइन्।

मिडियामा कसरी प्रस्तुत हुने, कसरी सरल हुने, मिडियामा बोल्दा चलाखिपूर्ण तरिकाले कसरी उत्तर दिने भन्ने कुरामा सिक्नु पर्ने आवश्यक रहेको बताइन्।

यस घटनाले आफूलाई पाठ सिकाएको पनि बताएकी छन्।

‘आँधी चलेको समयमा कसरी हिँड्नु पर्दो रहेछ भन्ने थाहा भयो र रुखबाट कुहिएको फल झरेसरी म मा भएको कमजोरी पनि झरेको छ।’

महानायक विवादलाई इंगित गर्दै उनले भनिन्, ‘मैले तीन गल्ती गरेँ, पहिलो प्रकाशजीले बोलाएको अन्तर्वार्तामा बिना तयारी गएँ, दोस्रो लगातार आरोप लाग्ने खालका प्रश्न आए र मैले आफूलाई कन्ट्रोल गर्न सकिन र मेरो शारीरिक हाउभाउमा समस्या आयो, र तेस्रो मिडियामा मैले कूटनीतिक चलाखी देखाउन सकिन र एउटा कलाकार भएर अर्को कलाकारको टिप्पणी गर्न पुगे।’

उनलाई कलाकार दीपकराज गिरीले अन्तर्वार्ता राम्रो भएन भनेको पनि उल्लेख गरेकी छन् । उनले आफ्नो शब्द चयन गलत भएको कारण कार्यक्रम सञ्चालकलाई गागी आइरहेको कारण समाधान के होला भनेर सल्लाह गरेको बताएकी छन्। दीपाले आफ्नो मनसाय त्यो नभएको तर गाली र तिरस्कारका शब्द झन् झन् बढ्दै गएको बताइन्।

केही भावुक हुँदै उनले भनिन्, ‘गाली हामीसँग टाँसिएर आएको हुने रहेछ’ उनले भनिन्, ‘मेरो कारणले दीपकजीले गाली खानु पर्‍यो, टिममाथि आक्रमण भयो।’ उनले आफूलाई आत्मग्लानी भएको बताएकी छन्।

उनले प्रण गर्दै भनिन्, ‘अबदेखि गल्ती दोहोर्‍याउदिनँ, व्यक्तित्व विकासमा पनि समय खर्चिन्छु।’ अन्त्यमा उनले राजेश हमालको फ्यानलाई भनिन्, ‘मेरो अभिव्यक्तिले तपाइँको मन दुखेको छ भने मलाई आफ्नै दिदीबहिनी सम्झेर माफ गरिदिनु होला।’