आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

छैटौँ पटक युरोपा लिगको उपाधि सेभिल्लाको पोल्टामा

गोकर्णेश्वर खबर६ भाद्र २०७७, शनिबार १०:०१ मा प्रकाशित (३ साल अघि) २३१ पाठक संख्या

एजेन्सी – स्पेनिस क्लब सेभिल्लाले कीर्तिमानी छैटौँ पटक युरोपा लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलार्य ३–२ ले पराजित गरेर सेभिल्लाले उपाधि जितेको हो ।

सेभिल्लाका लागि लूक डी जोङ्गले दुई गोल गरे भने इन्टर मिलानका रामेलु लुकाकुले एक आत्मघाती गोल गरे। इन्टर मिलानका लागि लुकाकु र डिएगो गोडिनले गोल गरेका हुन् ।

सेभिल्लाका डिफेन्डर डिएगो कार्लोसले रामेलु लुकाकुलाई फउल गरेपछि इन्टर मिलानले पाएको पेनाल्टीमा पाँचौँ मिनेटमा लुकाकुले गोल गरे ।

त्यसपछि डी जोङ्गले सेभिल्लाका लागि १२ र ३३ औँ मिनेटमा गरी दुई गोल गरे । ३५ औँ मिनेटमा गोडिनले गोल गरी इन्टर मिलानलाई खेलमा बराबरीको अवस्थामा ल्याए ।

तर ७४ औँ मिनेटमा लुकाकुले आत्मघाती गोल गरी सेभिल्लालाई जिताए । डिएगो कार्लोसको बाइसाइकल किकलाई जोगाउने क्रममा लुकाकुले आफ्नै पोस्टमा गोल गरेका हुन् ।
लुकाकुको आत्मघाती गोलले सेभिल्लालाई कीर्तिमानी छैटौँ पटक युरोपा लिगको उपाधि दिलायो। सेभिल्लाले युरोपा लिगमा अहिलेसम्म खेलेका सबै ६ फाइनलमा जित हाँसिल गरेको छ ।