आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

होटल तथा रेस्टुरेन्टलाई टेक अवे सेवा मात्र दिने सरकारको निर्णय

गोकर्णेश्वर खबर२७ श्रावण २०७७, मंगलवार १९:०६ मा प्रकाशित (३ साल अघि) २७४ पाठक संख्या

काठमाडौं – सरकारले रेष्टुरेन्ट तथा खाजाघरमा बसेर खानेकुरा खान नदिने भएको छ ।

साना–ठूला रेष्टुरेन्ट र खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई टेक अवे सेवा मात्र दिने निर्णय गरेको हो ।

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार अब होटेलस्थित रेष्टुरेन्ट र खाजा घरहरुले समेत मानिसलाई राखेर सेवा दिन पाउने छैनन् । सरकारले स्थानीय प्रशासनमार्फत यसको अनुमगन गर्ने र अटेरी गर्नेमाथि कारवाही गर्नेछ ।

सोमबारको मन्त्रिपरिषद बैठकको निर्णयपछि ठूला होटलहरु पनि थप १५ दिन बन्द अवस्थामा नै रहनेछन् । किनभने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेसम्म बन्द हुनेछन् ।

‘जहाज नखुलेपछि होटेल स्वतः बन्द रहनेछन्,’ तामाङले भने । हवाई यातायात र होटेल खुला भएपछि भने सम्बन्धित मुलुकबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई नेपाल आउने अनुमति दिइने भएको छ ।

सरकारले त्यसको आन्तरिक तयारी गरिरहेको छ । यसरी नेपाल आएका पर्यटक ७ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

सरकारले यसरी क्वारेन्टिनका रुपमा उपयोग गर्ने प्रयोजनका लागि भने अब होटल तोक्ने भएको छ । दैनिक ५ सय जनासम्म पर्यटक आउन सक्ने अनुमानसहित क्वारेन्टिन होटेल तोकिने उनले जानकारी दिए । सरकारले ७ दिन क्वारेन्टिनमा बस्ने गरी अनिवार्य होटल बुकिङ गरेको प्रमाण देखाएपछि मात्र नेपाल आउने अनुमति दिनेछ ।

होटलमा बसेर बाहिर निस्कने बेला पनि पीसीआर परीक्षण गरी त्यसमा नेगेटिभ आएमात्र पर्यटकले घुमघामको अनुमति पाउनेछन् ।