आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार २३:३३ मा प्रकाशित (३ साल अघि) ३३३ पाठक संख्या

वीरगञ्ज – समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड १९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

वीरगञ्ज १६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले शनिबार उनलाई कोरोना विशेष अस्पताल गण्डकमा रिफर गर्‍यो । तर गण्डकमा ल्याइएका संक्रमितलाई बुझ्ने क्रममा मृत्यु भइसकेको पाइएको डा. निरज सिंहले जानकारी दिए ।
श्वास प्रश्वासमा समस्या भएपनि उनलाई १४ गते भवानी अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएको भन्दै भर्ना नलिएपछि नारायणी बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि अस्पतालले भर्ना लिन मानेन । आरडीटी परीक्षण रिपोर्ट माग्यो ।

वीरगञ्ज हेल्थ केयर हस्पिटलमा गएर आरडीटी गराउँदा रिपोर्ट नेगेटिभ आएपछि राति १ बजेतिर भर्ना लिएको मृतकको कान्छो छोराले बताए ।

‘अक्सिजन छैन भनेर भर्ना गर्न मानिरहेको थिएन, आमालाई सास फेर्न गाह्रो भइरहेको थियो’ उनले भने ‘बल्लबल्ल आरडीटी रिपोर्ट ल्याउनु अनि भर्ना गर्छु भनेपछि १५ सय तिरेर आरडीटी गराएँ । त्यसपछि आईसीयुमा राख्यो । त खानेकुरा नै दिइएन ।’

बयोधामा आईसीयू चार्ज, औषधी उपचारमा गरेर ८० हजार खर्च गर्दा पनि आमालाई बचाउन नसकेको उनले बताए । ‘अहिले त अस्पतालमा विरामीलाई उपचार गराउन निकै गाह्रो रहेछ । आमालाई लैजाँदा अस्पतालको व्यवहार देखेर दिक्क लाग्यो’ उनले भने ।

यस्तै नारायणी वयोधा अस्पतालमै मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०ः१२ बजे मृत्यु भएको थियो । र, शुक्रबार राति रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए ।