आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कैलालीमा बाढीमा परी तीनको मृत्यु

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार १९:२० मा प्रकाशित (३ साल अघि) ३०१ पाठक संख्या

धनगढी – कैलालीमा बुधबार आएको भारी वर्षाका कारण बाढीमा परी तीन जनाको मृत्यु भएको छ।

बुधबार बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय ईश्वर शाह र चक्र विकको शुक्रबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

शाह र विकको शव बेपत्ता भएको ठाउँबाट एक किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको विष्टले बताए।

बुधबार बाढी आएपछि घरनजिकैको कुलोमा बगेर बेपत्ता भजनी नगरपालिकाको जनकपुरका ११ वर्षीय स्केल चौधरीको भने बिहीबार नै शव भेटिएको थियो।

योसँगै बाढीमा बगेर मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

बेपत्ता भएकामध्ये अझै भजनी नगरपालिका वडा नम्बर ८ का थप एक जनाको पत्ता लागेको छैन।

यस्तै, बिहीबार जानकी गाउँपालिकाका ४४ वर्षका कोबी सुनार पनि बगेर बेपत्ता भएका छन्।

बेपत्ता दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, जिल्लामा बाढीबाट ६ हजार ३ सय घरधुरी प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी जानकारी दिए। अनुसार प्रभावितमध्ये २ हजार घरधुरी विस्थापित भएका छन्।

प्रभावित र विस्थापित भएकालाई उद्धार गरेर सडक, विद्यालयमा राखिएको उनले बताए।