आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

राजधानीमै सुध्रिएनन् स्थानीय तहका केन्द्रका सडक

गोकर्णेश्वर खबर१५ श्रावण २०७७, बिहीबार ०६:३६ मा प्रकाशित (३ साल अघि) ४०८ पाठक संख्या

काठमाडौं । जनताको मतबाट स्थानीयस्तरमै सरकार बनेपछि सबैलाई लागेको थियो अब सानातिना समस्या समाधान हुने भए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष बित्दासमेत फरक केही अनुभव हुन नसकेको गुनासो छ । राजधानी शहरकै काठ क्षेत्रका स्थानीय तहमा त उदाहरणी रुपमा विकास निर्माणका काम हुने विश्वास भए पनि त्यो पूरा नभएको गुनासो बढ्न थालेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–५ को थलीमा नगर कार्यपालिकाको कार्यालय छ । थली कागेश्वरी मनोहराको सिंहदरबार हो । यहाँका मूल सडक, भित्री सडक सबै रोपाइँ गर्न तयार पारिएका खेतका गराजस्ता देखिन्छन् । सडक बनाउन नगरपालिकाका र वडा कार्यालयमा जतिपटक अनुरोध गरे पनि काम हुन नसकेको स्थानीयवासी पूर्ण श्रेष्ठको गुनासो छ । “वर्षा लागेपछि घरअघि पानीको दह जम्छ, हिउँद सुरु भएपछि धुलोले घरअघि केही देखिँदैन, स्थानीय सरकार बन्नुअघि पनि हाम्रो दैनिकी वर्षामा हिलो र हिउँदमा धुलो खाएर बित्थ्यो, अहिले पनि त्यसरी नै बितेको छ, जतिसुकै तहका सरकार बने पनि हाम्रो दैनिकीमा कुनै सुधार हुन सकेको छैन”, उनले भने ।

नगर कार्यपालिकाको कार्यालयअघि थलीचौरस्थित मिलनचोकबाट मूलपानी जाने भित्री सडकमा गत आवमा बजेट पनि विनियोजन भएको थियो । सडक दायाँबायाँ पर्खाल बनाए पनि सडक बीच भागमा केही गरिएको छैन । पर्खाल बनाए पनि वर्षे व्यवस्थित हुन नसकेको स्थानीयवासीको गुनासो छ । नगरपालिकाको योजनामा काम हुँदा सडकमा सूचना पाटीसमेत नराखिएका के काम कति दूरीमा गरिएको हो भन्ने थाहा नभएको स्थानीयवासी सोमबहादुर तामाङले बताए ।

जेठको अन्तिम हप्ता यो सडकमा पहिलो लेभलको ग्राभेल हालिएको थियो । त्यसपछि वर्षा हुन थालेकाले काम अघि बढ्न सकेको छैन । थली क्षेत्रका अन्य भित्री सडकको अवस्था पनि दयनीय छ । थलीचोकबाट सिम्खडागाउँ हुँदै वाग्मती नदीतिर निस्कने सडकमा पनि हिलो र पोखरीले हिँड्न नसकिने अवस्था रहेको स्थानीयवासीको गुनासो छ ।

यस्तो सडकमा सवारी गुडाउन समस्या छ । सवारी गुड्दा हिलोले दायाँबायाँ हिँड्नेलाई निथ्रुक्कै भिजाउँछ । दायाँबायाँका घरमा पनि हिलो छ्यापिने गरी सवारी गुड्ने गरेको छ । केन्द्र रहेको नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजाराम पुडासैनी स्थानीय सरकारका तर्फबाट सकेसम्म भित्री सडकमा ग्राभेल हाल्ने, पोखरी पुर्ने काम भइरहेको बताउँछन् । “गुनासो गर्नेले स्थानीय सरकारको स्रोत, साधन एवं अधिकारले कति गर्न सकिन्छ भन्ने पनि बुझ्नुपर्‍यो, सकेसम्म भित्रका सबै सडकलाई हिँड्डुल गर्न सकिने बनाउने प्रयासमा छौँ”, उनले भने ।

जोरपाटी–थली–साँखु मूल सडकसमेत अझै निर्माण सम्पन्न हुन सकेको छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेक्का गरेको छ वर्षसम्म पनि सडक अलपत्र छ । ठाउँठाउँमा ठूला पोखरी जम्दा सवारी चलाउन असहज भएको चालक श्याम तामाङको गुनासो छ । डाँछीको ब्रह्मखेलको मूल सडकमा बनेको पोखरीले सवारी चलाउन डराउनुपर्ने परिस्थिति आएको उनले बताए । रासस