आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

गोकर्णेश्वर खबर१३ श्रावण २०७७, मंगलवार २२:३४ मा प्रकाशित (३ साल अघि) २६२ पाठक संख्या

सुर्खेत – विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ ।
कुशे गाउँपालिका १ स्याँक्रीकी एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो ।

यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए ।

बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले जानकारी दिए । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने यसअघि सोमबार गाउँमै मृत्यु भएको थियो ।

विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार नै सुर्खेत पुर्‍याएको थियो ।

बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए ।

ढिलोगरी अस्पताल ल्याएकोले च्याउको विषले धेरै असर गरिसकेको हुँदा बचाउन नसकिएको उनको भनाइ छ ।

घरमुली टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललिते र ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको छ ।