आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

चोर भनेर निर्दोष व्यक्तिको हत्या !

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १५:२४ मा प्रकाशित (३ साल अघि) ४७९ पाठक संख्या

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा चोरीको आरोपमा एक निर्दोष व्यक्तिको हत्या भएको छ। चोर भन्दै कुटपिट गरिएका एक युवकको मृत्यु भएको र उनी निर्दोष पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। स्थानीयले चोरी गर्न आएको ठानेर कुटपिट गरेका युवक छिरिङ लामाको मृत्यु भएको प्रहरीको भनाइ छ। रसुवा घर भएका छिरिङ काठमाडौं कपुरधारामा बस्दै आएका थिए।

कुटपिटबाट अर्का युवक दोर्जे तामाङ घाइते छन्। “रातिको समयमा मध्यपान गरेका ती युवाहरू एक घर नजिक पुग्दा कुकुर भुकेको थियो,” बालाजु वृत्तका प्रमुख डीएसपी रंजितसिंह राठोरले भने, “सोही क्रममा उनीहरुले पनि होहल्ला गर्न थालेपछि घरका मानिसहरु बाहिर आएर कुटपिट गरेको देखिन्छ।”

कुटपिट भएपछि भाग्ने क्रममा अन्य मानिसहरुसमेत जम्मा भएर ढुंगा प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ। मृतकको टाउकोमा गम्भीर चोट लागेको छ। “घटनाको जानकारी आएपछि तत्कालै प्रहरी पुगेर छिरिङलाई अस्पताल लगिएको थियो,” राठोरले भने, “अस्पतालले उनलाई मृत घोषित गर्‍यो।”

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।