आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदमार्ग प्रवर्धन गरिने

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार ०६:२९ मा प्रकाशित (३ साल अघि) ९१४ पाठक संख्या

काठमाडौं । कोभिड–१९ महामारीका कारण नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पर्यो ।

महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको अवस्थामा पर्यटन क्षेत्रको गतिविधि प्रायः ठप्प बन्यो । बन्दाबन्दीका बीचमै राजधानी काठमाडौंसँग जोडिएको पदयात्रा पर्यटनको खोजी भएको छ ।

काठमाडौंको बूढानीलकण्ठदेखि रसुवाको गोसाइँकुण्डसम्मको ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदयात्रा मार्ग सम्भाव्यता अध्ययन गरिएको हो । काठमाडौं नुवाकोट र रसुवा जिल्लालाई जोड्ने यो पदमार्गको बन्दाबन्दीका बीच स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ । नुवाकोट–रसुवा पर्यटन समाज आयोजक तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनमा पदयात्रा मार्गको सम्भाव्यता अध्ययन गरिएको हो ।

जम्मा आठ दिनको यो पदमार्ग बुढानिलकण्ठ–अल्छे–मानेभञ्ज्याङ–समुद्रटार–बाघमारा–सागरकुण्ड–राउचुली–झ्याकुमभुली–गोसाइकुण्ड पुगेर धुन्चे हुँदै फर्कन सकिन्छ । काठमाडौँको एक हजार ४०० मिटर उचाइदेखि शुरु हुने पदयात्रा चार हजार ३८० मिटरको गासाइँकुण्ड पुगेर समाप्त हुन्छ ।

त्यसो त यो पदमार्ग नयाँ हैन । बुढानिलकण्ठदेखि गोसाइँकुण्डसम्मै ढुँगे सिंडी पदमार्गमा ठूलो धनराशी खर्चिएको पुरानै पदमार्ग हो । हालसम्म रु ८० करोड लगानी रहेको यो पदमार्ग सबैभन्दा बढी सरकारी लगानीको पदमार्ग पनि हो । तर लगानी अनुरुप उपयोग गर्न नसक्दा पदमार्ग ओझेलमा परेको छ ।

यो पदमार्गले शिवपुरी नागर्जुन र लाङ्टाङ राष्ट्रिय निकुञ्जलाई समेटेको छ । यस्तै पदमार्गले गोसाइँकुण्ड–धुन्चे पदमार्ग, गोसाईकुण्ड–हेलम्बु–मेलम्ची पदमार्ग, लाङटाङ पदमार्ग, फिकुरी पदमार्ग, तामाङ हेरिटेज पदमार्ग, रुबी भ्याली पदमार्ग र गणेश हिमाल पदमार्गसँगको कनेक्टिभिटी हुन्छ ।

प्राकृतिक, जैविक, र सांस्कृतिक विविधताले परिपूर्ण यो पदमार्गमा अनगिन्ती पवित्र हिमाली ताल, विविध जातजाति, उनीहरुको चाड पर्व र जीवनशैलीको प्रत्यक्ष अवलोकन गर्न पाइने छ । त्यस्तै विभिन्न गुफा, ओडार, चौरीगोठ, भेडीगोठ आदिको पनि यो पदमार्गमा अवलोकन गर्न सकिन्छ । उपत्यका, पहाडी र हिमाली दृश्यको फराकिलो दृश्यावलोकनको अवसर पनि मिल्ने भएकाले सबैखाले पर्यटकका लागि यो पदमार्ग उपयुक्त गन्तब्य बन्ने व्यवसायीको भनाइ छ ।

‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदयात्रा मार्ग नयाँ पदमार्ग मात्र नभई यसका अथाह पूर्वाधार पहिल्यै बनिसकेकाले केही पूर्वाधार निर्माण गरी प्रवद्र्धन गरेमा पर्यटन क्षेत्रका लािग नयाँ ‘प्रडक्ट’ हुने प्रतिवेदनको निष्कर्ष छ । पर्यटन व्यवसायी शिव लामिछानेको संयोजकत्वमा छ सदस्यीय टोलीले यही असार १२ देखि १९ गतेसम्म आठ दिन लगाएर यो पदमार्गको स्थलगत अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन र यसको छोटो भिडियो पनि बनाइएको छ ।

उक्त अध्ययन प्रतिवेदन मंगलबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रमका बीच समाजका अध्यक्ष बलराम न्यौपानेले बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई हस्तान्तरण गरेका थिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले बन्दाबन्दीको असहज परिस्थितिमा पनि नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरी प्रतिवेदन बुझाएकामा समाजलाई धन्यवाद दिँदै पदमार्गलाई नयाँ प्रडक्टका रुपमा विकास गर्न बोर्डले अवश्यक सहयोग गर्ने बताए ।

उनले बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई चलयमान बनाउन सरोकारवालाको सक्रिय भूमिका चाहिने उल्लेख गरे । बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले राजधानी काठमाडौंसँग जोडिएको लामो पदमार्गको पूर्वाधार विकास र प्रवर्धन गर्न सके पर्यटन क्षेत्रका लागि नयाँ उपयुक्त गन्तव्य बन्ने बताए ।

पदमार्ग अध्ययन भ्रमण टोलीका संयोजक शिव लामिछानेले पदमार्गभित्र केही भौतिक पूर्वाधार निर्माण गरेको खण्डमा नयाँ पर्यटकीय गन्तव्यबाट लाभ लिन सकिने बताए ।

युवा समाजसेवी रमेश महतले विसं२००६ मा पूर्व सम्भाव्यता अध्ययन भइ ठूलो बजेट खर्च भइसकेको यो पदमार्गले अहिले आएर सार्थकता पाएको भन्दै यसलाई काठमाडौंबाटै पदयात्रा शुरु गर्न सकिने प्रमुख पदमार्गका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । रासस