आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

प्रदेश नम्बर १ मा संशोधन प्रस्ताव पारित

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार १७:४९ मा प्रकाशित (३ साल अघि) ४०७ पाठक संख्या

विराटनगर। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६’ को पहिलो संशोधनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव आज सदनमा पेस गरेका थिए ।

उनले १० महिनाअघि बनेको यो ऐनलाई अझ समृद्ध र बलियो गर्न आवश्यक भएकाले संशोधनको प्रस्ताव गरेको बताए । जरिवाना र नवीकरणजस्ता विषयमा तत्काल संशोधन गर्न आवश्यक भएको तथा ऐनलाई जनमैत्री बनाउन संशोधन आवश्यक रहेको बताए ।

प्रदेशसभाको सोही नियमावलीबमोजिम संशोधनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्य केदार कार्कीले कुनै पनि ऐन हतारमा ल्याउन नहुने  भन्दै ऐनले जनतालाई सेवा र सुविधामा पहुँच पु¥याउने किसिमको हुनुपर्ने बताए ।

अर्का सदस्य श्रीप्रसाद मैनालीले प्रदेश सवारी तथा यातायात ऐनले प्रदेश सरकारलाई धेरै मद्दत गर्ने भएकाले यसमा मन्त्रालयले सुझबुझका साथ गर्न लागेको संशोधनप्रति धन्यवाद दिए । प्रदेशसभाको अर्को बैठक आगामी साउन २ गते दिउँसो १ बजे बस्नेछ ।