आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २७ पुग्यो,४ जना अझै बेपत्ता

गोकर्णेश्वर खबर२७ असार २०७७, शनिबार २१:५० मा प्रकाशित (३ साल अघि) २५० पाठक संख्या

पोखरा – म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ ।

पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट प्राप्त वितरणअनुसार धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी ६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् ।

यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, अन्दाजी ७ वर्षकी करिश्मा, अन्दाजी ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनकी छोरी ४ वर्षकी दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।

प्रहरीका अनुसार धवलागिरी ६, कल्लेरीका ५१ वर्षीया जमिना केसी र १६ वर्षा सविन पुन हराइरहेका छन् ।

हराएका भनिएका मराङ रिखाका अन्दाजी ४० वर्षका धनबहादुर जुग्जाली, अ. १५ वर्षकी रितु कुमारी र अ. ५ वर्षका अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।

यस्तै मालिका गाउँपालिकामा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । प्राप्त विवरणअनुसार मालिका ७ विमका ४० वर्षका विष्णु पौडेल, ४ वर्षकी इच्छा पौडेलको मृत्यु भएको छ । यस्तै गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली , सन्दीप नेपाली, वीरबहादुर नेपाली र उनका तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ ।

यस्तै रघुगंगा गाउँपालिका ६ ठाडाखानीका अन्दाजी ५० वर्षका नलिमान छन्त्यालको पनि शव भेटिएको छ ।

प्रहरीका अनुसार १२ जनालाई उद्दार गरिएको छ । मालिका ७ विमका पूर्णबहादुर नेपालीको ढाडमा चोट लागेको छ भने खुट्टा फ्याक्चर भएको छ । वडा नम्बर ६ की २२ वर्षीया मन्जिता श्रीपाली, जो गर्भवती पनि छिन्, उनको पनि ढाडमा समस्या देखिएको छ ।

उनीहरूसँगै ७ वर्षका सफल श्रीपाली र ताकमका ६७ वर्षका सतदेवी विटालुलाई पनि पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको छ ।

मालिका ६ का बालसिंह रोकालाई काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ । सामान्य घाइते ७ जनाको भने बेनी अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोका कारण जोखिममा परेका झण्डै ९०० जनलाई सुरक्षित स्थानमा सारिएको छ । धवलागिरी गाउँपालिकाका मात्र ५९० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोमा परेकाहरुको उद्दारमा तीन वटै सुरक्षा निकायका साथै स्थानीय समेत खटिएका छन् भने विभिन्न संघ संस्थाको सहयोगमा पाल, ब्ल्यांकेट, कम्बल, ड्राइफुड, दाल चामल समेत वितरण गरिएको प्रहरीले जनाएको छ ।