आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अब एक व्यक्तिले २ भन्दा बढी सिमकार्ड राख्न नपाउने

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार ०९:५९ मा प्रकाशित (३ साल अघि) ३५० पाठक संख्या

काठमाडौं  -अब एक व्यक्तिले एकै कम्पनीका दुइ वटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएपछि यस्तो व्यवस्था लागू हुन लागेको हो ।

यद्यपि, एक व्यक्तिले फरक फरक सेवा प्रदायकको गरी दुईओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।

एउटा सेवा प्रदायक कम्पनीबाट भने दुई वटाभन्दा बढी सिमकार्ड लिन पाउने छैन ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।

यसरी एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड दिँदा दुरुपयोग हुनसक्ने भन्दै प्राधिकरणले यस्तो निर्णय लिएको बताइएको छ ।

‘एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा त्यसको दुरुपयोग हुनसक्छ, दूरसञ्चार सम्बन्धी विभिन्न अपराधमा प्रयोग हुन सक्छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘त्यतिमात्र नभएर एउटा व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा स्वयम् व्यक्ति नै खतरामा पर्न सक्ने भएकाले त्यस्तो जोखिम रोक्न यस्तो निर्णय लिइएको हो ।’