आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

भाकलपछि जन्मिएकी कञ्चन अब कहिल्यै फर्केर आउने छैनन्,पापीहरुले कलिलै उमेरमा खोसे

गोकर्णेश्वर खबर२० असार २०७७, शनिबार १७:४९ मा प्रकाशित (३ साल अघि) ३५९ पाठक संख्या

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी संगीतादेवी पजियारको घरपरिवार तरकारी व्यवसाय गर्छन्।

घर नजिकैको कुर्थाबजारमा तरकारी पसल थापेका छन्। बेच्नका लागि बुधबार बिहान संगीता आफ्ना जेठो छोरा राजुसँगै धनुषाको ढल्केबजार पुगेर तरकारी किनेर झण्डै ११ बजे फर्किन्।

घरको आर्थिक अवस्था कमजोर भएका कारण पति वनोद पजियार र १३ वर्षीय छोरा रोशन छिमेकको खेतमा मजदुरी गर्न बिहानै गएका थिए। घरमा एकमात्र छोरी ११ वर्षीया कञ्चन थिइन्।

घरमा तीनवटा पाडापाडी पालेका छन्।

‘आमा बजारबाट फर्किने बित्तिकै खाना बसाल्नु भो। कञ्चनलाई पाडापाडी लिएर आँप बगैँचामा चराउन जान अह्राउँदै आफू खाना पकाएर लिएर आउने भन्नुभयो। बहिनी कञ्चन काका महेन्द्र पजियारको घरमा खाना खाएर भैँसी चराउन गइन्’ कञ्चनको कान्छो दाई रोशनले घटना वृतान्त सुनाउँदै भने, ‘आमा खान लिएर जानु भयो। भैँसी त्यहाँ छँदै थियो। तर कञ्चन थिइनन्। केही बेर पर्खिनु भयो। आमालाई बजार जान हतार भएको कारण छोरी फेरि आइहाल्छे कि भन्दै त्यही आँप रखबारी गरिरहेका कहाँ खाना राखेर फर्किनु भयो।’

संगीता जेठो छोरासँगै बजारमा तरकारी बेच्न पुगिन्। तरकारी बेच्दा पनि छोरी कञ्चन कतिबेला घर फर्केर बजार आउलिन् भन्दै घरीघरी टोल्लाउथिन्। गाउँमै एकजनाको श्राद्धभोज रहेकाले सोही भोजमा गएकी होलिन् भन्ने घरपरिवारले अनुमान लगाएका थिए।

‘कञ्चन साँझ ५ बजेसम्म घर नफर्केपछि हामीले आफन्त नजिकै सबैकोमा खोज्यौं। तर कतै भेटिइनन्’ दाई रोशनले भने ‘बिहीबार बिहान हामीले प्रहरीलाई जानकारी गरायौं। सबैले बिहीबार दिनभर खोजे तर पनि फेला परिननन्। खोजविन गरिनै रहेका थियौं। तर बहिनी कञ्चनलाई हामीबाट सदाका लागि पापीहरुले खोसिसकेछन्।’

शुक्रबार बिहान साढे ११ बजेतिर स्थानीयले दुधमति नदीको छेउमै धान रोपाइँ गरिरहेका थिए। त्यहाँ ती महिलालाई अत्यन्तै दुर्गन्ध लागेपछि दुधमती नदीको पश्चिमपट्टी झाडीको तल नग्न अवस्थामा बालिकाको शव देखिन्।

‘ती महिला शव देख्ने बितिकै आतिइन्। नजिकै खेतमा काम गरिरहेकाहरुलाई बोलाइन्। म पनि त्यहिँ नजिकै खेतमा काम गरिरहेको थिएँ। दौडेर गएर हेर्दा त त्यो शव अरु कसैको होइन, बुधबारदेखि बेपत्ता भएकी कञ्चनको थियो’ स्थानीय रामबाबु साहले भने ‘त्यहीँबाट मैले फोन गरेर कञ्चनको घर, गाउँ र प्रहरीलाई जानकारी गराएँ।’

शव भेटिएलगतै कञ्चनको घरपरिवार लगायत गाउँभरि सनसनी फैलियो। सबै शोकमा डुबे। एकएक गर्दै गाउँका सबै मानिस कञ्चनको शव हेर्न घटनास्थल पुगे।

छोरीको मृत्युको खबरले आमा संगीता पटक पटक मुर्छा पर्छिन्।

‘दुई छोरा पछि एक छोरी पाउन संगीताले भाकल गरेकी थिइन्। तर भगवानले दिएको छोरी कञ्चनलाई पापीहरुले कलिलै उमेरमा खोसे’ छिमेकी गुलावदेवी साहले संगीताको पीडा सुनाउँदै भनिन्, ‘छोरी कञ्चनलाई आमा संगीतासहित घरपरिवारले असाध्यै माया गर्थे। कुकर्म गरी मार्ने राक्षसलाई कहिल्यै भलो हुँदैन।’

कञ्चनको शव नग्न अवस्थामा झाडीमा फेला परेको हो। शवको प्रकृति हेर्दा कसैले बलात्कार गरेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

‘कसैले बलात्कार गरेरै हत्या गरेको जस्तो घटना देखिन्छ। तर पोस्टमार्टम रिपोर्ट नआएसम्म वास्तविक के हो भन्न सकिन्न। हामी अझै घटनाको अनुसन्धान गरिरहेका छौं,’ धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले भने।’

घटनास्थल नजिकबाट प्रहरीले एउटा कम्बल बरामद गरेको छ।

कञ्चनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। स्थानीयले घटनामा संलग्न दोषीलाई अविलम्ब खोजविन गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
घटनामा संलग्न रहेको आशंकामा घटनास्थलभन्दा झण्डै डेढसय मिटर दक्षिण स्मसानघाटमा बस्ने एक अघोरीबाबालाई प्रहरीले पक्राउ गरेको छ।

करिब ४५ वर्षका ती अघोरीबाबा भारतबाट आएर झण्डै एक वर्षदेखि स्मसान घाटमा बस्दै आएको स्थानीयले बताएका छन्। उनले नशा समेत सेवा गर्ने गरेका छन्।

‘एक अघोरीबाबालाई पक्राउ गरी हामीले अनुसन्धान थालेका छौं। उ हो वा होइन अनुसन्धानपछि मात्रै केही भन्न सकिन्छ। अझै शंकास्पद व्यक्तिहरुलाई हामीले खोजविन गर्दैछौं,’ डीएसपी कार्कीले भने।

स्थानीयका अनुसार घटनास्थल नजिकै रहेको आँप बगैँचामा लागु औषध सेवन गर्ने युवाहरुको समूह आउने गरेका छन्। लागु औषध सेवन गर्नेहरुले नै कञ्चनलाई त्यहाँबाट अपहरण गरी बलात्कार गरेर हत्या गरेको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन्।नेपालखबरबाट