आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

बझाङमा पहिरोले १७ घर पुर्यो,क्षति विवरण आउँन बाँकी

गोकर्णेश्वर खबर२० असार २०७७, शनिबार १०:४५ मा प्रकाशित (३ साल अघि) ५१७ पाठक संख्या

काठमाडौं – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले पनि प्रहरीहरु घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको बताए । डिएसपी बमले भने, ‘पहिरोले बाटो पनि बगाएको छ । खोलामा बाढी पनि आएको छ । त्यसैले हाम्रो टोली पहिरो गएको भनिएको स्थानसम्म पुग्न सकेको छैन र क्षतिको विवरण पनि प्राप्त भएको छैन ।’

स्थानीय लोकेन्द्र विकले भने अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिंगो वस्ती नै पहिरोको चपेटामा परेको बताए । उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ ।