आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

दुबईबाट आएर गोठमा आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार १८:५५ मा प्रकाशित (३ साल अघि) ७५० पाठक संख्या

काठमाडौं  – रोल्पामा बुधबार आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए ।

मृत्युपछि उनको स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

संक्रमण पुष्टि भएका युवकको शव पोष्टमार्टम गर्ने क्रममा राप्ती प्रादेशिक अस्पतालको शव गृहमै रहेका कारण शवको व्यवस्थापन दाङमै गर्नका लागि समन्वय भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

‘संक्रमितको शव व्यवस्थापनका लागि दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहित जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग समन्वय भइरहेको छ,’ प्रजिअ रानाले भने, ‘नेपाली सेनाको टोलीले शवको व्यवस्थापन दाङमै गर्ने कुरा छ ।’

संक्रमतिको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको कार्य पनि अघि बढी सकेको उनले बताए । ‘उनी असार १० गते दुबईबाट आएका रहेछन् । उनीसँगै को–को आएका थिए ? उनको शवलाई पोष्टमार्टम गर्न अस्पताल ल्याउँदा क–कसले सहयोग गरेका रहेछन् भन्नेबारे खोजी भइसकेको छ,’ प्रजिअ रानाले भने, ‘उनीहरु सबैलाई क्वारेन्टिनमा ल्याएर राख्नका लागि तयारी भइरहेको छ ।’