आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कृषिमन्त्री धान रोपेको उद्घाटन गर्न जब खेतमा छिरे त्यसैबेला मेसिनले धानै रोपेन

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार २२:१२ मा प्रकाशित (३ साल अघि) ९१७ पाठक संख्या

उदयपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सोमबार धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रमका लागि उदयपुर पुगे ।

त्रियुगा नगरपालिका १३ बडेवहामा स्थानीय साहरा सहकारी संस्थाले चक्लाबन्दी खेती गरेको ठाउँमा सोमबार मेसिनले धान रोप्ने कार्यक्रम थियो । त्यसका लागि त्रियुगा नगरपालिकाले धान रोप्ने मेसिनको बन्दोबस्त पनि गरेको थियो ।

धान दिवसको कार्यक्रममा कृषिमन्त्री भुसाल हाफ सर्ट, स्टकोट, पाइन्ट र बुट लगाएर खेतमा गएका थिए । उनीसँगै प्रदेश १ का भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री राम राना, प्रदेश सांसद विमल कार्की, त्रियुगा नगरपालिकाका जनप्रतिनिधि, नेकपाका स्थानीय नेता कार्यकर्ताहरु सहभागी थिए ।

तर धान रोपेको उद्घाटन गर्ने बेलैमा मेसिनले काम गरेन । धानको बेर्ना राखेर खेतमा मेसिन गुडाउँदा बिउ खसाल्दै जानुपर्नेमा धानको बिउ छोडेन । प्राविधिकले खेतमा पानी धेरै भएकाले बिउ गाडिएको बताए ।

कृषि मन्त्रीले पनि मेसिन चल्छ कि भनेर एक छिन हेरे तर चलेन । उनले प्राविधिकहरुलाई ‘तपाईंहरुले प्रयास गर्नुभयो धन्यवाद’ भने ।

सँगै रहेका प्रदेशका भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री राम रानाले यति ठूलो कार्यक्रममा विना तयारी मेसिन ल्याइएको भन्दै गुनासो गरे । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले अघिल्लो दिन मेसिनले राम्रैसँग काम गरे पनि अहिले एक्कासी के भयो भन्दै अचम्म माने ।

मेसिनले काम नगरेपछि नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, प्रदेश सांसद विमल कार्की, राज्यमन्त्री राम राना बिउ बोकेर आफैं रोपाइँ गर्न झरे । कृषिमन्त्री भुसालले भने धान रोपेनन् ।