आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

क्वारेन्टिनबाट घर फर्किएका ४५ वर्षीय पुरुषको मृत्यु

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार १०:३४ मा प्रकाशित (३ साल अघि) ३०२ पाठक संख्या

धनगढी – जेठ २७ गते त्रिनगर भन्सार नाका हुँदै नेपाल भित्रिएका अछामका एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्वर ५ का ४५ वर्षीय पुरुषको आज विहान साढे ८ बजे मृत्यु भएको हो।

१४ दिन क्वारेन्टिनमा बसेर आरडिटी परीक्षण नेगेटिभ आएपछि उनी घर फर्किएका थिए। घर फर्किएको एक हप्तापछि हिजो दिउँसो उनको स्वास्थ्यमा समस्या आएपछि गाउँपालिकाको स्वास्थ्य टोलीले एम्वुलेन्समार्फत मंगलसेन अस्पताल लगेको थियो।

मंगलसेन अस्पतालमा बेड खाली नभएको भन्दै उनलाई साफेवगरस्थित बयालपाटा अस्पतालमा पठाइएको थियो।

सास फेर्न समस्या, पखाला लागिरहने, खोकी लाग्ने जस्ता लक्षण उनमा देखिएको रामारोशन गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख इन्चार्ज प्रभुनाथ देवकोटाले बताए। उनको आज स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ।
उनको मृत्युपछि क्वारेन्टिनमा सँगै बसेकामा त्रास बढेको छ। ‘पिसिआर परीक्षण छिटो भए व्यवस्थापन गर्न सहज हुन्थ्यो’ उनले भने।

अहिले शव व्यवस्थापनको लागि खाल्डो खनिसकेको र उनको छोरा र भाइले सुरक्षित तरिकाबाट शव व्यवस्थापन गर्न खोजेको देवकोटाले बताए।