आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेपाल प्रवेश गरेको सलहले ठूलो नोक्सानी पुर्‍याएको छैन : कृषि मन्त्रालय

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार ०८:४८ मा प्रकाशित (३ साल अघि) ६३३ पाठक संख्या

काठमाडौं – सरकारले शनिबार नेपाल भित्रिएको सलहले हालसम्म कुनै ठूलो नोक्सानी नगरेको बताएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बुटवलको सैनामैनामा मकैमा सामान्यबाहेक अन्यत्र क्षतिको कुनै विवरण नभएको जानकारी दिएको हो ।

मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाइँले पछिल्लो विवरणअनुसार भारतको राजस्थानबाट सलहको ठूलो झुन्ड दिल्लीतर्फ अघि बढेको सूचना मन्त्रालयमा प्राप्त भएको जानकारी दिए ।

‘सलह अझै ठूलो संख्यामा नेपाल आउने सम्भावना रहेकाले डर बढ्यो,’ उनले भने,’भारतले पनि त्यो समूह नष्ट गर्न प्रयास थालेको छ ।’

यसैबीच भारतबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहका ४ वटा झुन्ड प्रवेश गरेको विज्ञहरुले बताएका छन् ।
कीट विज्ञहरुले शनिबार पर्सा,बारा,सर्लाही र रुपन्देहीमा गरेर चार ठाउँमा झुन्ड प्रवेश गरेको बताएका हुन् । ती झुन्डबाट केही छुट्टिएर र हावाले उडाएर नेपालका अन्य भूभागहरुमा पुगेको सलह नियन्त्रणका लागि कृषि मन्त्रालयद्वारा गठित प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले बताए ।

रुपन्देहीमा प्रवेश गरेको बुटवल हुँदै त्यहाँबाट छुट्टिएर एउटा पाल्पा र अर्को सैनामैना हुँदै कपिलवस्तुतिर गएको विज्ञहरुले बताएका छन् ।

बारामा देखिएको ठूलो झुन्ड टुक्रिएर काभ्रे र मकवानकपुरको बीचमा पुगेको थियो । त्यही झुन्ड टुक्रिएर मकवानपुरगढी र चितवन पुगेको हुमागाईंले बताए ।