आज: ९ कार्तिक २०७७, आईतवार | Sun, 25, Oct, 2020

बुलेट बाइक

गोकर्णेश्वर खबर१३ असार २०७७, शनिबार ०८:१३ मा प्रकाशित (४ महिना अघि) १२० पाठक संख्या

दीपेन्द्र दोङ तामाङ, 

टिङटिङटिङ

टकटकटक

ऊ रिन्जेनको घोडा आयो, निक्खर सेतो ।

बाटो छोड है केटा हो, घोडाको टापले कुल्चिएला ।

कानपुरको चौतारीको आडैमा रहेको चिया पसलमा तास खेल्दै गरेका एक झुप्पा युवकहरु हाँस्न थाले । उनीहरुको हाँसोको कारण थियो– घोडाको घण्टी र खुरको टपको टकटक आवाज ।

“होइन हाम्रो तिमाले रिन्जेन राजा आज एकाबिहानै कता सवारी हुन लागेछन् ?” चुरोटको धूवाँ उडाउँदै दावाले बोल्यो । उसको कुराले थप हाँसोको फोहरा छुट्यो । यत्तिकैमा च्यान माइलाले थप्यो, “घोडाको पेट्रोल सकियो होला, भकुन्डेमा गएर भर्न जान लाग्या होला ।”

अनि त के चाहियो, सबै जना फेरि गलल्ल हाँसे ।

घोडा र घोडामा सवार रिन्जेन त्यहीँ आइपुग्यो । घोडा साँच्चिकै सेतो थियो । तर घोडामा सवार रिन्जेनको वास्तविक नाम भने निङ्मार थियो । तर ऊ सधैं सेतो घोडा चढेर तेमाल गाङ (डाँडा) चहरिरहने भएकाले केटाहरुले जिस्काएर उसको नाम नै रिन्जेन राखिदिएका थिए ।

वास्तवमा, रिन्जेन दोर्जे तेमाले तामाङ राजाको नाम हो । उनी यसैगरी सेतो घोडामा भोटेपाटी, चापाखोरी, याङ्बेल गाङ, ग्योयिखार, कल्यारी, कोटतेमाल डुलिरहन्थे रे । उनको शासनकालमा तामाङ भाषा, संस्कृति र स्वाभिमान समृद्ध र उचाइमा थिए भनिन्छ । पृथ्वीनारायण शाहका सेनाले शान्तिपूर्ण सन्धिका लागि भन्दै बोलाएर निहत्था रिन्जेन दोर्जेको धोकावश हत्या गरी तेमाललाई आफ्नो अधीनमा लिएका थिए । तर राज्यसत्ता गुमाए पनि तेमाले तामाङहरुले आफ्नो भाषा बिर्सेनन्, संस्कृति त्यागेनन् । त्यसैले तामाङ भाषा र संस्कृति हराए तेमालमा जानू भन्ने लोकोक्ति तामाङ समुदायमा अझै प्रचलनमा छ ।

निङ्मारले त्यो घोडा आफ्नो आपाबाट पाएको थियो । पहिले उसका आपा त्यही घोडा चढेर तेमाल गाङमा मात्र होइन, शैलुङदेखि माबार गाङसम्म नामी थिए । कति केटाहरु उनको सेतो घोडा देखेर डाहले जल्थे भने कति छामे (तरूनी)हरु भुतुक्कै हुन्थे । त्यसो त निकै रसिक स्वभावका उनले तिन ओटीलाई आफ्नो बनाइसकेका थिए ।

पहिली र दोस्रीबाट कुनै सन्तान नभएपछि तेस्रीलाई उनले सिन्धुली खुर्कोटबाट भगाएर ल्याएका थिए, यही सेतो घोडामा बसाएर । तेमालेहरु कतिसम्म पुस्तैनी दादा थिए भने, निङ्मारका आपाले घाँस काट्न गएकी अर्काकी स्वास्नी र बुहारीलाई भगाएर ल्याएकामा जारी माग्न आएकाहरुलाई उल्टै घङ्घारूको लौरोले धुस्नु हुने गरी पिटेर पठाएका थिए रे !

तर निङ्मारलाई भने आफ्नो आपाको यो विगत र मुख्र्याइँ अथवा बहादुरीसँग कुनै लिनुदिनु थिएन । न त उसले आफ्नो बितिसकेका आपाको अन्तिम निसानी सम्झेर नै घोडा चढेको थियो । घरमै घोडा भएकाले आपासँग सानैदेखि घोडामा बसेर हिँड्दाहिँड्दा उसलाई पनि बानी परेको थियो । त्यसैले ठूलो भएपछि पनि घोडामा चढेर कतै जाँदा उसलाई सहज र छिटो भएको महसुस हुन्थ्यो । यही कारणले मात्र ऊ सेतो घोडा चढ्थ्यो । तर घोडा चढेकै कारण उसले गाउँमा खिसीस्वरुप रिन्जेन उपनाम पाएको थियो । जेहोस् रिन्जेनको सेतो घोडा तेमालभर परिचित थियो ।
. . .
रिन्जेन अर्थात् निङ्मार आफ्नो घोडासहित त्यही चौतारोमा आइपुग्यो । चौतारोको एउटा छेउमा लस्करै विभिन्न ब्रान्ड, स्वरुप र रङका मोटरसाइकल पार्क गरिराखिएका थिए । चौतारोमा म्यारिजको खाल बिहानैदेखि मज्जाले जमिसकेको थियो । छेउमा रहेको धनवीर आकुको पसलबाट लोकल कुखुरा ‘मसालेदार चिकेन’का रुपमा पाक्दै गरेको बास्ना बाहिरसम्म आइरहेको थियो ।

यो तेमालमा भर्खरभर्खर हुर्कंदै गरेको नयाँ संस्कार थियो । बिहानैदेखि म्यारिजको खाल जम्नु, दिनहुँजसो लोकल कुखुरा पाक्नु, विभिन्न ब्रान्डका रक्सी र बियरका रित्ता बोतलको कुन्यु बढ्दै जानु अनि पल्सर, बुलेट, यामाहा, एभेन्जर बाइकमा धूलो उडाउँदै कुद्नु तिमाले छारब्योनहरुको दैनिकी नै बनिसकेको थियो ।

त्यसका लागि उनीहरुले खासै मिहिनेत गर्नुपर्दैनथ्यो । किनभने पैसा घरको आँगनमै बोटमा फल्थ्यो– बुद्धचित्त अथवा फ्रेङ्बा मालाका रुपमा । र बोटमा फूल नफुल्दै ठेकेदारहरु पैसाको बिटो बोकेर आउँथे, लिलाम बढाबढ गर्न । अनि त के चाहियो, मनलागी बोली लगायो, हचुवाको भरमा पैसाको बिटो कुम्ल्यायो !

फेरि पैसा भनेको जातै नराम्रो हुँदो रहेछ क्यार । नहुँदा अत्याउने, धेरै भए पनि उन्मादले मत्याउने ।

रिन्जेन पनि चौतारोमै आइपुग्यो ।

“हैन बिहानै घोडामा सवार भएर कता सवारी हुन लाग्नुभयो, रिन्जेन महाराज ?” सूर्य चुरोटको धूवाँको मुस्लो हावामा उडाउँदै बुद्धेले सोध्यो ।

“डाप्चा हिँडेको म त…,” रिन्जेनले सत्य बतायो ।

“किन फेरि चाङ (भाउजू) माइत हिँडिन् ? कस्ती रहेछिन् त हाम्री चाङ दामो पनि । यस्तो घोडामा मज्जाले चढ्न पाएर पनि चित्त नबुझाउने,” दावाको कुरा नटुङ्गिँदै सबै जना फेरि गलल्ल हाँसे ।

“रिन्जेन सरलाई आफूले मात्र घोडा चढ्न पाए पुग्यो । अनि भाउजू किन नरिसाउनु नि ? कि कसो ?” च्यान माइलाको ठट्टाले फेरि हाँसोको फोहरा छुटायो ।

“काम छैन, पैसाले बरालिएका मोराहरु…,” रिन्जेनले रिसाउँदै भन्यो । उसले घोडाको लगाम तनक्क तन्कायो र घोडालाई अगाडि बढ्ने निर्देशन दियो । घोडासँगै रिन्जेन त्यहाँबाट हिँड्यो । बुद्धचित्त मालाको बोट रूङ्न ठेकेदारहरुले पैसोकै ओछ्यान लगाएर खटाएका केटाहरुसँग केही निमेष पनि अल्झिनु थिएन, उसलाई । किनकि उसलाई बेलैमा दाब्चा पुग्नु थियो । आफूसँग झगडा गरेर चित्त दुखाएर माइत हिँडेकी स्वास्नीलाई मनाएर घरमा ल्याउनु थियो । तर उनी मान्लिन् या उल्टै अपमानित भएर फर्कनुपर्ने हो, त्यो भने अनिश्चित थियो ।
. . .

“खेप्पा (बूढा) हामी पनि एउटा मोटर साइकल किनौं न,” साँझको घरधन्दा सकिएर उसकै अँगालोमा पल्टिएकी स्वास्नी दामोको अकस्मात्को प्रस्ताव सुनेर निङ्मार झस्कियो ।

“किन चाहियो हामीलाई मोटरसाइकल ? मलाई कतै टाढा जानुपर्दैन । मैले पढाउने स्कुल घरको मास्तिरै छ । फेरि कतै टाढा जानुपर्याे भने घोडा छँदै छ,” निङ्मारले स्वास्नीलाई सम्झाउने कोसिस गर्याे ।

“गाउँभरका सबैले केके चढिसके, तपाईं चाहिँ त्यही बूढो घोडा चढेर हिँड्नुस् । दुनियाँका स्वास्नीहरुको कस्तो सान छ, आफ्नो भने…,” निङ्मारकी स्वास्नी ठुस्किइन् ।

“होइन तिमी यति अबुझ कहिलेदेखि बन्यौ हँ ? उनीहरुका पो मालाका बोट छन्, पैसा बोटमा फल्छन् । बिनादुःख बोटमा फल्ने पैसा त जसरी उडाए नि भैगो नि । फेरि उनीहरु त याम्बु र तेमाल गरिरहन्छन् । त्यसैले मोटरसाइकल चाहिएर किनेका हुन् । आफू त परें, स्कुलको मास्टर । न कतै जानु छ, न त पैसा फल्ने कुनै बोट नै छन् । अनि आवश्यक नै नभएको कुरामा किन खर्च गर्नु ?” निङ्मारले स्वास्नीलाई सम्झाउन खोज्यो ।

“मैले केही रहर गरें कि तपाईंलाई दसथरी कुरा आउँछ । स्वास्नीका रहर पूरा गर्न नसक्नेले किन विवाह गर्नु नि ? सुताउन मात्र ?” यस पटकको स्वास्नीको यो प्रहारले निङ्मारको मुटु नै छेड्यो ।

घाइते अवस्थाको तिरमिरमा कतिखेर उसको हात स्वास्नीको गालामा गएर बज्रिएछन् । चट्याम्म आवाज आएसँगै स्वास्नीको रूवाइको आवाज सुनेपछि बल्ल पो होसमा आयो ऊ । त्यतिन्जेल स्वास्नीले आफ्ना लुगा र सरसामान पोका पारिसकिछन् । अनि त्यो मध्यरातमै माइत हिँड्छु भन्दै घुर्की लगाउन थालिन् ।

आफूले वंशजमा पाएको तेमाले रिसलाई काबुमा राख्न नसक्ने निङ्मारलाई आफैंप्रति पछुतो लाग्यो । उसले स्वास्नीलाई सम्झाइबुझाइ रोक्ने प्रयास ग¥यो, हातै जोडेर माफी माग्यो । तर स्वास्नीले माने पो ! स्वास्नी निस्केर जान खोज्ने, निङ्मारले रोक्ने । यही खेल चलिरह्यो रातभर । यस्तै खेलमा लखतरान भएर दुवै जना कति खेर निदाए… सायद दुवैले मेसो पाएनन् ।

बिहान निङ्मारको आँखा खुल्दा ओछ्यान रित्तै थियो । उसकी स्वास्नी त्यहाँ थिइनन् । उसले चोटा, बुइँगल, अगेना र गोठसम्म गएर खोज्यो, कतै पनि उसकी स्वास्नी थिइनन् ।
. . .

गाउँका हुनेखानेमै पर्ने निङ्मारका आपाले सानैमा उसलाई काठमाडौं लगेर पढाएका थिए । होस्टेलमा बसेर पढ्न पाएकाले उसको सङ्गत कि उडन्ते, कि पढ्न्तेहरुसँग हुने नै भयो । निङ्मारको सङ्गत पढन्तेसँग थियो । त्यही भएर पढाइमा राम्रो थियो ।

सिङ्गो गाउँमै यसरी छोरालाई काठमाडौं लगेर पढाउने हैसियत राख्ने निङ्मारका आपा मात्र थिए । गाउँलेहरुका सामु उसका आपाको यसकारण पनि मान थियो । तर आइए पढिसक्दा नसक्दै आपाको निधन भएपछि निङ्मार एक्लो मात्र भएन, उसको पढाइ र जीवनका सबै योजना र सपना अधुरै रहे । घरको सहारा ऊ मात्र थियो । जेठी आमाको चाहिँ आपाभन्दा पहिले नै निधन भइसकेको थियो ।

आपाको निधनपछि निङ्मारको जीवनयात्राको बाटो बीचैमा मोडियो । उसले आपासँगै देखेका सपना केही अधुरै रहे । तर छोराले पढाइ सकाएर गाउँमै फर्केर केही गरोस् भन्ने आपाको एउटा सपना भने पूरा गर्न निङ्मार तत्पर भयो । र ऊ पढाइलाई बीचमै छाडेर गाउँ फर्कियो । त्यसमा थोरै उसको बाध्यता थियो । तर धेरै आपाको सपना थियो ।

जीवनमा कहिलेकाहीँ भाग्यले पनि साथ दिँदो रहेछ । निङ्मार गाउँ फर्केकै वर्ष गाउँकै स्कुलमा मास्टरको एउटा दरबन्दी खाली भयो । स्कुलका सञ्चालक समिति अध्यक्ष हीरामान आगुको प्रस्तावमा निङ्मारले नियुक्ति पायो ।

निङ्मार सर पाएर घ्याङ प्राविका सञ्चालक समिति र विद्यार्थीहरु मात्र होइन, सिङ्गो गाउँ नै खुसी थियो । यता आँगनमै सरकारी जागिर पाएर निङ्मारको घरमा अर्कै खुसीको रौनक थियो । अब निङ्मार, गाउँभरि निङ्मार सरका रुपमा चिनिन थाल्यो ।
. . .

अर्को वर्ष निङ्मारको बिहे भयो । दाप्चाको मोक्तानकी जामे दामोलाई धुमधामसाथ भित्र्याएको थियो उसले ।

रुपवती र गुणवती दामोलाई जीवनसाथी पाएर निङ्मार खुसी थियो । पढेका र सरकारी जागिर भएका निङ्मारलाई पति पाउनु दामोका लागि पनि भाग्यको कुरा थियो ।
. . .
निङ्मार घोडामा सवार भएर अगाडि बढ्दै थियो । स्मृतिमा डुब्दाडुब्दै आधा बाटो कटिसकेको उसले पत्तै पाएनछ । आफ्नै विगत सम्झेर उसको मन खै किन हो, एकाएक भारी बनेको महसुस भयो । बिहे गरेर ल्याएको तेस्रो वर्ष पुगिसक्दा पनि उसकी स्वास्नी दामोले ऊसँग आजसम्म केही कुरा मागेकी थिइनन् । गुनासो गर्न त उनले अझसम्म जानेकी नै थिइनन् । कतिसम्म भने अलि केही योजना बनिसकेपछि मात्र बच्चा जन्माउने निङ्मारकै योजनाबमोजिम आमा बन्ने रहरसमेत उनले मनभित्रै सीमित बनाएर राखेकी थिइन् । तर त्यस्तो बुझक्की स्वास्नीले आज आएर पहिलो पटक माग राखेकी थिइन्, त्यही पनि मोटरसाइकलको ।

आइमाईको जात देखासिकीमै रमाउँछन् भन्ने कुराको ताजा उदाहरण थियो, निङ्मारका लागि आफ्नै स्वास्नी । तेमालको यो नयाँ समृद्धिले मेरो घरलाई पनि छाडेन । अझै कतिलाई केके गर्ने हो खै ।

निङ्मारले खुइऽय गर्दै लामो सास फेर्‍यो । मध्याह्नको घाम बिस्तारै छिप्पिँदै थियो । त्यसैले चौतारोमा पुगेर उसले घोडालाई रोक्यो । ओर्लेर ढुङ्गे धाराबाट एकनासले बगिरहेको चिसो पानी हत्केलामा राखेर पियो । पानीले उसको आँतलाई त शीतल बनायो । तर भतभती पोलिरहेको मनलाई भने छुँदै छोएन ।

मैले पनि त्यसरी एकैचोटि हात छोडिहाल्न नहुने थियो । यसमा बिचरी दामोको के दोष थियो र ? मैले कुरै नबुझी उनीमाथि हातै उठाएँ ? छि… !

निङ्मारले धाराको त्यो चिसो पानी आफ्नो मुखमा छ्याप्यो । चिसो पानीले हातमुख धोएपछि उसलाई बल्ल केही शीतल भएको महसुस भयो । उसको सेतो घोडा पनि धाराबाट बगेको कुलोको पानी पिउँदै थियो ।

निङ्मार फेरि घोडामा चढ्यो । उसलाई उकालो जानु थियो । तर खै किन हो, उसले घोडालाई तेस्रो बाटोतर्फ नै मोड्यो । घोडा आफ्नै रफ्तारमा हिँड्दै गयो । मनमा एक किसिमको हतारो थियो । किनकि उसको घोडा किन्छु भनेर मरिहत्ते गर्ने पाँचखालको पासा साहूलाई भेट्नु थियो उसले । पैसा नपुगे आजै धुलिखेल पुगेर मास्टरीबाट आएको तलब, जुन उसले चर्किंदै गएको पुरानो घर भत्काएर सानै भए पनि पक्की बनाउन भनेर जम्मा गरेर राखेको थियो, झिक्नु थियो । अझ सम्भव भए आजै बुलेट बाइकको बनेपा सोरूममा पुग्नु थियो । त्यसैले निङ्मारले घोडाको लगाम फेरि तनक्क तन्कायो र हातको सानो लठ्ठीले घोडालाई हल्का हिर्कायो । सायद उसको घोडा उसकै आदेशको पर्खाइमा थियो क्यार, बेतोडले दौडियो ।

पर तेमाल गाङबाट देख्नेहरु भन्दै थिए— आज त रिन्जेनको सेतो घोडा पनि बुलेट बाइक जत्तिकै तुफान दौडियो त !