आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024

पशुपति परिसर सरसफाइका लागि भारतद्वारा तीन करोड ७२ लाख सहयोग

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार ०८:३४ मा प्रकाशित (४ साल अघि) ३२५ पाठक संख्या

काठमाडौं- पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइका लागि भारतले आर्थिक सहयाेग प्रदान गरेको छ ।

पशुपतिनाथ क्षेत्रको सरसफाइ तथा निर्माणका लागि सहयोग गर्ने विषयमा नेपालस्थित भारतीय दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच  सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी वा पहिले एसडिपीज) को रुपमा यस परियोजनालाई नेपाल–भारतमैत्री विकास साझेदारीअन्तर्गत अनुदान दिइनेछ ।

यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोषले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो ।

पशुपतिनाथ मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाइ सुविधा निर्माण गर्न यस परियोजनाअन्तर्गत भारतले रु ३ करोड ७२ लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ ।

परियोजनाको कार्यान्वयन काठमाडौँ महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्डअनुरुप गर्नेछ ।

सहमतिअनुसार १५ महिनामा निर्माण सम्पन्न गर्नका लागि महानगरपालिकाले बोलपत्र प्रक्रियामार्फत उपयुक्त ठेकेदारको छनोट गर्ने जनाइएको छ ।