आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

रेस्लिङप्रति आकर्षण बढ्दै नेपाली युवा युवती

गोकर्णेश्वर खबर२२ कार्तिक २०७४, बुधबार ०५:५६ मा प्रकाशित (६ साल अघि) ९४१ पाठक संख्या

विरगंज २२ : पछिल्लो समयमा रेस्लिङ खेलप्रति सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । नेपालमै अन्तराष्ट्रिय प्रतियोगिता हुन थालेपछि सर्वसाधारण रेस्लिङ खेलप्रति आकर्षित हुन थालेका हुन् ।

सधैं रेस्लिङ खेल हेर्न विदेशी च्यानलमा भर पर्ने दर्शक प्रत्यक्ष हेर्न पाउने भएपछि प्रतियोगिता हेर्न आतुर देखिएका छन् । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा यहीँ कात्तिक २५ गते शनिबार दशरथ रंगशालाको कभर्डहलमा प्रतियोगिताको आयोजना गर्ने भएकाे छ । दोस्रो चोटी हुन लागेको प्रतियोगितामा विगतको भन्दा यसपाली दर्शकको सहभागिता झण्डै दोब्बर हुने महासचिव सुवर्ण श्रेष्ठले बताइन् । ‘गत वर्षको भन्दा यसपालीको प्रयोगिता आकर्षक र रोमाञ्चकारी छ’ उनले भनिन् ।

प्रतियोगिताका लागि विभिन्न देशका प्रतियोगीहरु आउने क्रम जारी रहेको छ । महासचिव श्रेष्ठका अनुसार विदेशी नौ जना प्रतियोगी आउन बाँकी रहेको र शुक्रबारसम्म आइपुग्ने छन् । महासचिव श्रेष्ठले प्रतियोगितामा अन्तराष्ट्रिय क्षेत्रमै राम्रो प्रोफाइल बनाएका खेलाडी आउन खोजेपनि सबैलाई उपस्थित गराउन नसकिएको जानकारी दिइन् ।

काठमाडौंको प्रतियोगितापछि कार्तिक २७ गते दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता इटहरीमा हुने भएको छ । काठमाडौंका विजेता र उपविजेताबीच इटहरीमा अर्को भिडन्त हुने संघकी अध्यक्ष सुनिता थापाले जानकारी दिइन् । विभिन्न सात स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगितामा विभिन्न आठ देशका खेलाडीको सहभागिता रहनेछ ।

अमेरिकाका प्रोरेस्लिङ गेमर, सिंगापुरका दि युरासियन ड्रागन, अस्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, नील र माक्सम्यानको सहभागिता रहनेछ । नेपालबाट नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साइन, टुप्पी र ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी प्रतियोगिताको आकर्षणका रूपमा महिला रेस्लरहरू रहेका छन् । रसियाका मेफिस्तो, चेक रिपब्लिकका रोमाना तथा नेपालका सोफी र दिलासाको सहभागिता रहनेछ ।

नेपाल रिङ रेस्लिङ संघ राष्ट्रिय खेलकुद परिषद्‍मा पहिलोचोटी २०७३ फागुनमा दर्ता भएकाे थियाे । स‌ंघले प्रथम रेस्लिङ प्रतियोगिता गत वर्ष गरेकाे थियाे । रेस्लिङसम्बन्धी अन्य धेरै संघ स्थापना भएपनि यस्ता प्रतियोगिता गर्न सकेका छैनन् ।