आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

ओमानविरुद्ध नेपालको फराकिलो हार

गोकर्णेश्वर खबर२२ कार्तिक २०७४, बुधबार १०:१७ मा प्रकाशित (६ साल अघि) २०५९ पाठक संख्या

काठमाडौं ,कार्तिक २२:- किर्गिस्तानमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । छनोट प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको नेपाल बुधबार भएको अन्तिम खेलमा ओमानसँग ५–० ले पराजित भएको हो ।

किर्गिस्तानको राजधानी बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भएको खेलमा नेपाल ओमानविरुद्ध पहिलो हाफमै ३ गोलले पछि परेको थियो । त्यस्तै दोस्रो हाफमा नेपालले थप २ गोल बेहोरेको थियो । यो हारसँगै छनोटको समूह एमा रहेको नेपाल अंकबिहिन हुँदै घर फर्किएको छ ।

गत महिना भुटानमा सम्पन्न साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली युवा टोली छनोटको पुछारमा समेत रह्यो । पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–० र दोस्रो खेलमा बहराइनसँग ४ – ० ले पराजित नेपाल तेस्रो खेलमा युएईसँग १ – ० ले पराजित भएको थियो ।

छनोटमा युएई ३ खेलमा शतप्रतिशत जितसहित ९ अंक जोडेर शिर्ष स्थानमा छ । युएईले छनोट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । युएईले बहराइनसँग आजै खेल्नेछ । छनोटको दोस्रो स्थानमा ओमान रहेको छ । ओमानको ७ अंक छ । त्यस्तै तेस्रो स्थानको किर्गिस्तानको ६ अंक रहँदा चौथो स्थानको बहराइनको ४ अंक छ ।

छनोटको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । छनोटमा दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।